समाचार

दार्जुलामा पहिरोमा परी एक दम्पत्ती बेपत्ता

१३ साउन, काठमाडौं । दार्जुलामा पहिरोमा परी एक दम्पत्ती बेपत्ता भएका छन् । घरमाथिबाट पहिरो खस्दा ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा बेपत्ता बनेका हुन् ।

मंगलबार बिहान करिब पौने ५ बजे दार्चुलाको दुहुँ गाउँपालिका–३ सल्लीमा घरमाथिबाट पहिरो खस्दा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पहिरोमा पुरिएका दम्पत्तीको अवस्था थाहा हुन नसकेको सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले बताए । खबर पाएलगत्तै उद्धारका लागि नजिकको ब्रम्हदेब चौकीबाट प्रहरी घटनास्थलतर्फ गएको छ ।

प्रहरीका अनुसार घरमै रहेका २१ वर्षीय छोरा सुनील भने सकुशल छन् । सुनीलले भागेर ज्यान जोगाएको एसएसपी सिंहले जानकारी दिएका छन् ।

पहिरोले घरको पर्खाल मात्रै देखिएको छ । पहिरोमा एउटा भैसी र चार वटा बाख्रा पनि पुरिएका छन् । दार्चुला–तिंकर सडक भत्किएर पहिरो गएको थियो ।