कर्णाली प्रदेश

कर्णालीमा कोराना सङ्क्रमित एक हजार ९०० नाँघ्यो

१० साउन, कर्णाली । मुलुकभर झैँ कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन । बन्दाबन्दी खुलेको एकसाता पुग्दैछ । सरकारी तथा गैरसरकारी कार्यालय तथा शहर बजारमा नागरिकको भीडसमेत बढ्न थालेको छ ।

यसले विगतमा देखिएको कोेरोना भाइरसको मनोविज्ञानभन्दा अब कोरोना रोगले ग्रसित भएपछि नागरिक स्वास्थ्य संस्थामा आउने र मृत्यु हुने खतरा बढेको चिकित्सकले बताउँदै आएका छन् । कर्णाली प्रदेश अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा के.एन.पौडेलले विगतमा सङ्क्रमण मात्र देखिँदै आएकामा अब लक्षण नै देखिने अवस्थामा पुगेकाले खतरा बढेको बताए ।

कर्णालीको जुम्लामा सङ्क्रमित व्यक्ति निको भएर घर गएपछि कोरोना मुक्त भएको छ । यद्यपि परीक्षणको दायरा बढाउँदा सङ्क्रमण देखिने सम्भावना त्यत्तिकै रहेको चिकित्सकले प्रतिक्रिया दिँदै आएका छन् । आज मात्रै कर्णालीका ३१ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

दैलेख अस्पतालमा गरिएको आरटी पिसिआर परीक्षणमा दुल्लु नगरपालिका दैलेखका २८ चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालमा गरिएको परीक्षमा सल्यान कुमाख गाउँपालिकाका दुई र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको आरडिटी पिसिआर परीक्षणमा चिङ्गाड गाउँपालिकाको एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए ।

उनका अनुसार शनिबार २७, आइतबार २८ र आज ३१ सङ्क्रमित थपिएसँगै कर्णालीमा कोरोना भाइरसबाट सङ्क्रमित हुने सङ्ख्या एक हजार ९१० पुगेको छ । १२ पुरुष र एक महिला सङ्क्रमित निको भएर घर फर्केसँगै कर्णालीमा कोरोना जितेर घर फर्कनेको सङ्ख्या एक ६५९ पुगेको मन्त्रालयको जनस्वास्थ्य शाखाले जनाएको छ ।