बाग्मती

‘कोभिड–१९ का कारण महिला पत्रकारलाई अझै बढी असर’

१२ साउन, काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा समिति सदस्य र महिला पत्रकार लगायतले कोभिड–१९ का कारण महिला पत्रकारलाई अझै बढी असर परेको बताएका छन् ।

समितिमा आज भएको महिला पत्रकारसँगको छलफलमा उनीहरुले कोभिड–१९ का कारणले निकालिनेमा वा बेतलबी बिदा बस्नेमा महिला पत्रकार बढिरहेका बताएका छन् । मिडिया सञ्चालकले कोरोनाका नाममा पत्रकारलाई भोको राख्न नहुने समिति सभापति कल्याणीकुमारी खड्काले बताए । अरु विभिन्न उद्योग बन्द गर्दा जस्तै मिडिया बन्द गर्दा पनि कानूनी प्रक्रिया पूरा गर्नुपर्ने भए पनि त्यो नभएको उनको भनाइ छ ।

उहाँले मिडिया सञ्चालकले पुराना पत्रकार निकाल्ने र कम तलवमा नयाँ पत्रकारलाई काम लगाउने गरेको गुनासो आउने गरेको बताए । उनले भने, “मिडियाले त्यसो गर्दा ऊर्जाशील उमेर यही पेशामा लगाएका महिलाले अर्को क्षेत्रमा जाँदा शून्यबाटै शुरु गर्नुपर्ने हुनसक्छ ।” समिति सदस्य गणेशकुमार पहाडीले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । श्रमजीवी पत्रकारको बिमा, सञ्चयकोष, उपदान, सुत्केरी बिदालगायतका सेवासुविधाबाट बञ्चित भइरहेको उनको भनाइ छ । उनले भने, “पत्रकारका रोजगारीको समस्या पुरानै भए पनि कोरोनाका कारण अझै बढेको छ ।”

समिति सदस्य रङ्गमति शाहीले आफू राजनीतिबाट न्याय पाइन्छ भनेर लागे पनि संसद् भएपछि महिला भएकाले विभेद भोग्नुपरेको बताए । संसद्मा महिलाका कुरा कम सुनिने गरेको उनको भनाइ छ । उनले भने, “जब भोट हाल्न वा अरु कामका लागि पुरुषको खोजी गर्नुपर्छ तर महिलालाई त्यसरी खोज्नुपर्दैन ।”

समिति सदस्य यज्ञराज सुनुवारले विसं २०६२/६३ को जनआन्दोलन पछि समावेशीताको अवधारणा बढेको बताए । पत्रकार महिलाका कतिपय समस्या तत्काल समाधान हुने किसिमका र कतिपय दीर्घकालीन समाधान गर्नुपर्ने किसिमका रहेकामा उनको जोड छ ।

सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले बन्दाबन्दीको समयमा कतिपय महिलालाई मिडिया सञ्चालकले घरबाटै काम गर भनेर पछि तलब नदिएको बताए । बन्दाबन्दीको समयमा माया गरे जसरी ‘घरबाटै काम गरे पनि हुन्छ भनेर अहिले समस्यामा पारेको उनको भनाइ छ । पत्रकारले आआफ्नो कर्तव्य पूरा गरे पनि मिडियाले आफ्नो कर्तव्य पूरा नगरेको उनको भनाइ छ । समूहले समस्यामा परेका पत्रकार महिलाका लागि कोष स्थापना गर्ने उनले जानकारी दिए । महिला पत्रकारको सहभागिता बढे पनि नेतृत्व तहमा पुगेको छैन । उनले भने, “निजी र सरकारी दुवैमा नेतृत्वमा महिला छैन ।”

प्रेस काउन्सिल नेपालकी सदस्य सङ्गीता खड्काले काउन्सिलले छापा, विद्युतीय, अनलाइन र टेलिभिजन गरी चारै विधामा गरेको अनुसन्धानमा बन्दाबन्दीको अवस्थामा पत्रकारको विकराल अवस्था रहेको बताए । यसको असर आगामी दुई/चार महिनामा अझै बढ्ने उनको भनाइ छ । मिडियाले सरकारसँग सहुलियत मागेर पनि पत्रकारलाई जागिरबाट निकाल्न नहुनेमा उनको जोड छ ।

क्रियाशील पत्रकार महिलाकी अध्यक्ष अमिका राजथलाले पत्रकार महिलाका मानसिक, पारिवारिक र आर्थिक समस्या रहेको बताए । यही क्षेत्रमा दुई वा तीनदशक बिताएका पत्रकार महिला पनि निरास रहेको उनको भनाइ छ । उनले भने, “मिडियामा नेतृत्व तहमा महिला पुग्न क्षमताभन्दा पनि कसको राजनीतिक फेरो समातेको छ भन्ने हेर्दा समस्या रहेको छ ।”