बाग्मती

राजधानीमा करिब तीन हजार छाडा गाई बाच्छा, स्थानीय सरकार मौन

१२ साउन, काठमाडौँ । संविधानले राष्ट्रिय जनावर भनी परिभाषित गरेको गाई बाच्छा राजधानीका सडक, नदी किनार एवं मठमन्दिरमा करिब तीन हजार छाडा छाडिएका छन् ।

गाई पाल्नेले बाच्छी जन्मिए राख्ने, बाच्छा जन्मिए दुई तीन महिना नबित्दै सडक, मठमन्दिर एवं नदी किनारमा लगी छोड्ने क्रम राजधानीमा बढ्न थालेको छ । गाईका बाच्छा खेत बारी जोत्ने काममा लगाउने गरिएकामा ट्याक्टरलगायत आधुनिक यन्त्र भित्रिएसँगै यसरी सडकमा छाडा छोड्न थालिएको हो । गाई पनि बुढो भएर नब्याउने भएपछि यसरी नै छोडिन्छ ।

कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित ब्रम्हखेलमा घाइते अवस्थामा छोडिएका चार वटा बाच्छाको तस्बीरसहित अवस्थाका बारेमा वडाध्यक्ष भाइकाजी अधिकारीलाई जानकारी गराउँदा हाम्रो काम होइन भन्ने जवाफ दिएको नागरिकस्तरबाट शुरु भएको छाडा गाई बाच्छा संरक्षण अभियानका अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए ।

यस विषयमा प्रतिक्रियाका लागि अध्यक्ष अधिकारीसँग सम्पर्क गर्दा उनले फोन उठाएनन् । यस विषयमा जानकारी गराउन नगरप्रमुख कृष्णहरि थापालाई पटकपटक फोन सम्पर्क गर्दा पनि नउठेको अभियानकर्मीको गुनासो छ । सरोकार भएका अन्य निकायलाई पनि ती बाच्छाको उद्धार गर्न आग्रह गरेकामा कसैले जिम्मेवारी लिएनन् । नगर प्रमुख थापा भने यस विषयमा अहिलेसम्म आफूलाई कसैले फोनबाट जानकारी नगराएको बताए ।

“नगरपालिकाले छाडा गाई बाच्छा संरक्षणका लागि पटकपटक सहयोग गरेको छ, अभियानकर्मीलाई व्यवस्थित योजना ल्याउनुस्, नगरपालिकाका तर्फबाट पनि सहयोग गछौँँ भनेका छौँ, मैले व्यक्तिगत रुपमा पनि पराल किन्न सहयोग गरेको छु, नगरपालिकाको वडा नं. ८ मा रहेको पशुपति क्षेत्र विकास कोषको ५३४ रोपनीमा व्यवस्थित गौशाला निर्माणका लागि पनि नगरपालिकाका तर्फबाट सहयोग गछौँँ”, उनले भने ।

छाडा गाई बाच्छा दिउँसो जम्मा पारेर राति छोडेको हो कि भन्ने गुनासो पनि स्थानीयवासीबाट आउन थालेको नगरपालिकाले जनाएको छ । अन्यत्रका गाई बाच्छा पनि जम्मा गरेर यहाँ अव्यवस्थित रुपमा छाडियो भने स्थानीयवासीको पनि बिरोध हुनेतर्फ सचेत हुन पनि नगर प्रमुख थापाले अनुरोध गर्नुभएको छ ।

उद्धार गर्न स्थानीय तहका जिम्मेवारी अधिकारीलाई आग्रह गरिरहेका बेलामा शनिबार एक बाच्छाको मृत्यु भएको छ । अर्का दुई बाच्छा पनि मृत्युको संघारमा पुगेको दृश्यले छाती चिरिएपछि अभियानकर्मी विकास थापाले ती बाच्छाको उद्धार गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी भागमा रहेको अभियानको आश्रय स्थलमा ल्याए ।

उद्धार गरेर ल्याए तिनको संरक्षण अभियानले गर्ने भन्दा पनि स्थानीय सरकारले वास्ता गरेनन् । नगर वा वडाबाट यस्ता असहाय र बेसहारा गाई बाच्छालाई उद्धार गर्ने कानूनी हैसियत हुने भएकाले नै आग्रह गरिएको हो । कागेश्वरी मनोहरा नगरपालिकाको ब्रम्हखेल क्षेत्रमा अझै आधा दर्जन साना बाच्छा मृत्युको मुखमा पुगेको अवस्थामा छन् । तीमध्ये एउटाको आँखा फुटेको र अर्को एउटालाई कुकुरले टोकेर सख्त घाइते बनाएको छ । इन्द्रायाणी क्षेत्रमा तीन र थलीको ओरोलोमा पाँच बाच्छा दयनीय अवस्थामा छन् ।

गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र झण्डै ६० भन्दा ज्यादा असहाय गाई बाच्छा शोक, भोक, प्यास र रोगले ग्रसित अवस्थामा भौँतारिएको अभियानले जनाएको छ । सम्बन्धित वडाका अध्यक्ष तथा जिम्मेवार अधिकारीलाई कमजोर र साना ती अबोध बाच्छाको उद्धार गरी विमानस्थल नजिकको आश्रयस्थलसम्म ल्याइदिन अभियानले आह्वान गरेको छ ।

अभियानले गौशाला क्षेत्रबाट सडक दुर्घटनामा घाइते एक वयस्क साँढेको उद्धार गरेको छ । आश्रयस्थलमा घाइते साँढेको उपचार भइरहेको छ । प्राणीमाथि हुने अन्याय र अत्याचारले सीमा नाघ्दा स्थानीय सरकार र चेतनशील मानिस यसको ब्यवस्थापनमा सक्रिय हुनु जरुरी रहेको अभियानकर्मीको माग छ । उपत्यकाभित्र मात्र तीन हजार गाई बाच्छा दयनीय अवस्थामा खुल्ला आकाशमुनि जीवन गुजारा गर्न बाध्य छन् । दैनिक २० भन्दा धेरै यी अबोध प्राणीले खान नपाएर, कुकुरको टोकाईबाट र सडक दुर्घटनामा जीवन गुमाएको अनुमान गरिन्छ ।

अभियानले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ को विमानस्थल नजिक र कोषको जग्गा रहेको खुर्सानी बारीमा हाल १०० भन्दा बढी साना गाई बाच्छालाई संरक्षण गरेको छ । विगतमा ठूला गाई बाच्छा पनि राख्ने गरिएकामा हाल सानालाई जोगाउन मुस्किल भएकाले ठूलालाई संरक्षण नगरिएको अभियानकर्मी पुडासैनीले बताए ।