कर्णाली प्रदेश

उच्च क्षमताको शीत भण्डार निर्माण

१२ साउन, कर्णाली । भेरीगङ्गा नगरपालिका– १२ सुर्खेत छिञ्चुस्थित झिलमिलेमा कर्णाली प्रदेशकै उच्च क्षमताको शीत भण्डार बनेको छ । नारी जागरण बहुउद्देश्यीय किसान समूहले कर्णाली प्रदेशमा पहिलो पटक सबैभन्दा बढी भण्डारण क्षमता भएको शीत भण्डार बनाएको हो ।

समूहका अध्यक्ष ज्ञान भुसालले दुई सय मेट्रिक टन भण्डारण क्षमता भएको शीत भण्डार निर्माण गरिएको जानकारी दिए । “गत आव २०७६/७७ मा कृषि विकास निर्देशनालयको ७० लाख र समूहको २९ लाख लगानी छ”, अध्यक्ष भुसालले भने, “आव ०७५/७६ मा भेरीगङ्गा नगरपालिकाको ६५ लाख, गुर्भाकोट नगरपालिकाको पाँच लाख, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको १५ लाख गरी एक करोड ५९ लाखको लागतमा शीत भण्डारको निर्माण सम्पन्न भएको छ । अब किसानले फलफूल तथा तरकारी ल्याएमा राख्न शुरु गर्छौंँ । एक पटकलाई पाँचदेखि छ महिनासम्मका लागि राख्यो भने प्रतिकेजी चार रुपैयाँ ५० पैसा लिने गरी कोल्ड स्टोर कार्यविधि निर्माण गरेका छौँं ।”

शीतभण्डार बनेसँगै कर्णालीका किसानले आलुलगायत अन्य तरकारी तथा फलफूलको बीउ उत्पादनका लागि कोहलपुर लैजानुपर्ने बाध्यता हट्ने उनले बताए । समूहले पहिलो, दोस्रो र तेस्रो पुस्ताको बीउ उत्पादन गरिरहेको जनाउँदै शीतभण्डार नहुँदा बचाउन गाह्रो भएको समस्या अबका दिनदेखि समाधान हुने उनको भनाइ थियो ।

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले उक्त संरचनाको स्थलगत अनुगमन किसानले उत्पादन गरेको वस्तु करीब छ महिनासम्म राख्न सकिने भएकाले अब उत्पादित वस्तु खेर नजाने बताउँदै यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले कर्णालीमा बनेको सबैभन्दा ठूलो र पहिलो शीतभण्डार निर्माणबाट सबै किसानलाई लाभ हुने प्रतिक्रिया दिए ।