बाग्मती

बीस दिनपछि मृतकको पहिचान खुल्यो

१२ साउन, काठमाडौँ । सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुनेको बीस दिनपछि पहिचान खुलेको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका– ९ का ६० वर्षीय हर्कजित लामा रहेको छ । असार २१ गते बेलुका बौद्धमा गाडीले ठक्कर दिएपछि गम्भीर घाईते भएका लामाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको थियो । महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भने, “ ट्रमा सेन्टरमा २० दिनसम्म बेवारिसे अवस्थामा रहेको लामाको शवलाई उनकी श्रीमतीले प्रहरीको सम्पर्कमा आएर आज पहिचान गरेको हो ।” दुई महिनाअघि ज्याला मदजूरी गर्छु भनेर लामा काठमाडौँं हिँडेको परिवारले बताएको छ ।

ठक्कर दिएर भागेको चालक र गाडीलाई महानगरीय प्रहरी वृत्त बौद्धले चार दिनपछि नियन्त्रणमा लिएको थियो । गाडी चालक १७ वर्षीय राजकुमार पुलामी मगर रहेको प्रहरीले जनाएको छ । गाडी चालकमाथि सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।