सुदूरपश्चिम

प्रदेश गौरवका सडक आयोजनाको निर्माण शुरु

१२ साउन, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले छनोट गरेका प्रदेश गौरवका सडक आयोजना निर्माणको काम अघि बढाइएको छ । सर्भे र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम पूरा भइसकेका प्रदेश गौरवको सडक आयोजना अन्तर्गतका सडकखण्डमा निर्माण कार्य शुरु गरिएको हो ।

प्रदेशको समग्र भौतिक विकासको मेरुदण्डका रुपमा लिइएका प्रदेशका गौरवका सडक आयोजना सबै नौ जिल्लामा एक/एकवटा छनोट गरिएको छ । क्षेत्रीय यातायात पूर्वाधार विकास कार्यालय दीपायलका निर्देशक प्रेमदत्त भट्टले पहिले नै बाटो वा ट्र्याक खुलिसकेका सडकलाई प्रदेशका गौरव सडक आयोजनाका रुपमा छनोट भई निर्माण कार्य अघि बढेको बताए ।

यी सडक आयोजनाका कतिपय ठाउँमा भने नयाँ ट्र्याक खोल्नुपर्ने देखिएको छ । कतिपय सडकको अधिकांश भागमा सर्भे लगायतका काम गर्न बाँकी छ । प्रदेश सरकारको चालू आव ०७७/७८ को नीति कार्यक्रममा प्रदेशका गौरवका सडक आयोजनाको निर्माण कार्य तीव्र रुपले अगाडि बढाउने उल्लेख गरिएको छ । गत आव ०७६/७७ मा यी नौवटा सडक निर्माणका लागि ४२ करोड बजेट विनियोजन गरेकामा सबै बजेट खर्च हुन नसकेको बताइएको छ ।

निर्देशक भट्टले भने, “चालू वर्ष र आगामी आर्थिक वर्षमा यी सडक पूर्णरुपमा काम हुन लागेका छन् ।” पूर्वाधार विकास कार्यालयमार्फत यी सडकको निर्माणको काम भइरहेको छ । डडेलधुराको दैजी लिप्ना हुँदै जोगबुढा सलोन चिकिट्टे, घटाल–ढुङ्गाड हुँदै बझाङ सम्मको सडक तथा डोटीको सहजपुर–बोगटान हुँदै दीपायल सम्मको सडकलाई प्रदेश गौरवको आयोजनाका रुपमा छनोट गरिएको छ ।

डोटीमा छनोट भएको प्रदेश गौरवको सडक आयोजना अन्तर्गतको सहजपुरदेखि अत्तरकाँडा सम्मको झण्डै ५० किमी सडकखण्डमा सङ्घीय सरकारमार्फत कालोपत्र गर्ने कार्य भइरहेकामा बाँकी खण्डमा प्रदेश गौरवको सडक आयोजनाअन्तर्गत काम हुन लागेको छ ।

पूर्वाधार विकास कार्यालय डडेलधुराका प्रमुख रामचन्द खत्रीले ठेक्का लागेका सडक आगामी तीन वर्षभित्र निर्माण पूरा गरिसक्ने लक्ष्य रहेको बताए । गत वैशाख महिनामै यी आयोजना निर्माणका लागि ठेक्काको प्रक्रिया शुरु गर्ने योजना रहेकामा कोरोना भाइरसका कारण केही महिना ढिलो गरी शुरु भएको जनाइएको छ ।

प्रदेशको राजधानी जिल्ला कैलालीमा भजनीदेखि बौनिया हुँदै खिमडी सम्मको प्रदेशको गौरवको सडक छनोट भएको छ । चालू वर्षमा बौनिया बजारदेखि उत्तर तर्फको झगरपुर क्षेत्रको सडक कालोपत्र गर्न लागिएको छ ।

गत आव २०७६/७७ मा प्रदेश गौरवका सडकको कतिपय खण्डमा विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने र सर्भे गर्ने लगायतका काम गरिएको थियो । निर्माणका लागि छुट्याइने बजेटका आधारमा आगामी दिनमा सडक निर्माण कार्यको भौतिक प्रगति देखिने जिल्ला पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख श्याम खड्का बताए ।

बझाङको पातिहल्लादेखि जडार, पानकोट, तल्कोट साइपाल हुँदै हुम्ला जोड्ने सडक, अछाम जिल्लाको जङ्गलघाटदेखि कमलबजार, जयगढ हुँदै बडिमालिका सम्मको सडक, बाजुराको खप्तडदेखि सिङ्गटन, गैरीकाँटा, आँटीचौर हुँदै मार्तडी सम्मको सडक र बैतडीको सतबाँझ, श्रीभावरहाट हुँदै दार्चुला सम्मको सडकलाई प्रदेश गौरवको आयोजनाका रुपमा छनोट गरिएको छ ।

बैतडीमा निर्माण हुन लागेको प्रदेश गौरव सडक आयोजना निर्माण कार्यको भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले हालै शुभारम्भ गरेका थिए। बैतडीमा चालू वर्षमा १६ किमी सडक निर्माण तथा स्तरोन्नति गर्न लागिएको छ ।

दार्चुलामा छनोट गरिएको खलङ्गादेखि खार, बेथला, पारिवगर हूँदै अपी हिमाल गाउँपालिकाको खण्डेश्वरी सम्मको प्रदेश गौरवको सडकमध्ये चालू वर्षमा १९ किलोमिटर कालोपत्र गर्ने लक्ष्य छ । कञ्चनपुरको बेलौरीदेखि कलुवापुर सम्मको खण्डमा चालू वर्षमा निर्माण तथा स्तरोन्नतिको काम गर्न लागिएको छ । कञ्चनपुरमा बेलौरीदेखि कलुवापुर, नायल हुँदै बुडर सम्मको सडकलाई प्रदेश गौरवको सडकमा छनोट गरिएको छ ।