समाचार

रेडक्रस रक्तसञ्चार सेवाको ५५औँ वर्ष पुरा

१२ साउन, काठमाडौँ । आर्थिक वर्ष २०७६/७७ मा दुई लाख ३८ हजार ८३६ युनिट रगत सङ्कलन भई तीन लाख २१ हजार ७७६ युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराइएको छ । नेपाल रेडक्रस रक्तसञ्चार सेवा केन्द्र स्थापनाको ५४औँ वर्ष पूरा भएको अवसरमा आज प्रकाशित प्रतिवेदनमार्फत यो जानकारी दिइएको हो । देशभरिमा विभिन्न सङ्घसंस्थाहरूबाट तीन हजार ४७८ घुम्ती रक्त सङ्कलन गरिएको छ भने केन्द्रीय रक्तसञ्चार सेवाबाट मात्रै ३९ हजार ७५५ युनिट रक्त सङ्कलन गरिएको रेडक्रसले जनाएको छ ।

विसं २०२३ साउन १२ गते नेपालमा रक्तसञ्चार सेवा स्थापना भएको थियो । अहिले नेपालको ७३ जिल्लाका ११६ स्थानमा रक्तसञ्चार सेवा केन्द्र तथा एकाइहरूमार्फत रेडक्रसले सेवा सञ्चालन गरिरहेको छ । काठमाडौँको केन्द्रीय रक्तसञ्चार सेवालगायत विराटनगर, पोखरा, नेपालगञ्ज र चितवन गरी चार क्षेत्रीय रक्तसञ्चार सेवा २२ जिल्लास्तरीय एकाइ, ४७ जिल्लाका आकस्मिक रक्तसञ्चार सेवा र ३८ अस्पतालका रक्तसञ्चार सेवा एकाइबाट अहिले रक्तसञ्चार सेवा सञ्चालनमा छन् ।

कोभिड–१९को महामारीको अवस्थामा सेवा स्थापना दिवस विभिन्न स्थानमा भीड नगरी फरक तरिकाले मनाइने कार्यक्रम रहेको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । यस अवसरमा केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा रक्तदान, रक्तदाता सम्मान कार्यक्रम तथा वार्षिक प्रतिवेदन सार्वजनिक गरिने उनले बताए ।

यसैगरी, बकुलहर, रत्ननगर अस्पताल चितवनमा आजै आकस्मिक रक्तसञ्चार सेवा शुरु गर्न लागिएको छ । स्थापना दिवसका अवसरमा केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा मनिता राजकर्णिकारले हाल विश्वभर फैलिएको कोभिड–१९ सङ्क्रमणले रक्तसञ्चार सेवा प्रभावित भए पनि रक्तदाता र रक्तसञ्चार सेवासँग सम्बद्ध सङ्घसंस्थाको सहयोगमा सङ्क्रमण जोखिम न्यूनीकरणमा ध्यान दिँदै सेवा प्रवाह गरिँदै आएको बताए ।

आव ०७५/७६ मा नेपालभर जम्मा दुई लाख ७१ हजार ९२२ युनिट रगत सङ्कलन भएकामा यस वर्ष कोभिड–१९ का कारणले केही प्रतिशत रक्तदाता घटे पनि महिला रक्तदाताको सङ्ख्या बढेको रेडक्रसको तथ्याङ्कले देखाएको छ । गत वर्ष कूल रक्तदाता महिलाको सङ्ख्या १६ दशमलव एक प्रतिशत रहेकामा यसपटक १७ दशमलव पाँच प्रतिशत पुगेको छ ।