प्रदेश 1

खोटाङमा अभिभावकविहीन बालबच्चालाई छात्रवृत्ति

१२ साउन, खोटाङ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका वा पूर्ण अशक्त भएका खोटाङका श्रमिक परिवारका ३२ बालबच्चालाई छात्रवृत्ति प्रदान गरेको छ । रोजगारीका सिलसिलामा विभिन्न देशमा दुर्घटना वा अन्य कारणले ज्यान गुमाएका वा अशक्त बनेका श्रमिकका ३७ बालबच्चालाई बोर्डले छात्रवृत्ति उपलब्ध गराएकामा ३२ जनाले मात्र सो छात्रवृत्ति पाएका हुन् ।

अन्य पाँच छात्रछात्राको ठेगाना नखुलेकाले छात्रवृत्ति रकम फिर्ता पठाइएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले जानकारी दिए । “छात्रवृत्तिका लागि समुदायस्तरका विभिन्न कार्यक्रम, विद्यालय तथा पालिकामा जानकारी गराएर सम्बन्धित परिवारसम्म सूचना पुर्याउने अभियान सामीले गरिरहेको छ”, उनले भने, “यही आधारमा आप्रवासी स्रोत केन्द्रको सम्पर्कमा आएका विद्यार्थी र अभिभावकलाई आवश्यक कागजपत्र सङ्कलनमा सहयोग गरी जिल्ला शिक्षा समन्वय एकाइमा पेश गर्ने काममा सहजीकरण गर्दै आएका छौँ ।”

वैदेशिक रोजगारीका कारण अभिभावकविहीन बनेका छात्रछात्राको पठनपाठनमा सघाउ पुर्याउने उद्देश्यका साथ बोर्डले आर्थिक वर्ष २०७६÷७७ मा सुरक्षित आप्रवासन परियोजनासँगको समन्वयमा छात्रवृत्ति उपलब्ध गराएको कार्यक्रम संयोजक आचार्यले बताए । बोर्डले वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७१ बमोजिम पीडित परिवारका कक्षा १ देखि कक्षा ८ सम्मका छात्रछात्रालाई जनही रु आठ हजार र कक्षा ९ देखि कक्षा १२ मा अध्ययनरत छात्रछात्रालाई जनही रु १२ हजारका दरले छात्रवृत्ति उपलब्ध गराएको हो ।

आव ०७६÷७७ मा कक्षा ८ सम्मका २८ र सोभन्दा माथिका नौ जना छात्रछात्राले छात्रवृत्ति पाएका छन् । वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृति लिएर विदेश गएको अवस्थामा करार अवधिमा मृत्यु भएका, अङ्गभङ्ग वा अशक्त भएका तथा बेपत्ता भएका परिवारका बालबच्चाका लागि केही वर्ष अघिदेखि हरेक वर्ष शिक्षा विकास तथा समन्वय एकाइमार्फत छात्रवृत्ति रकम पठाउने गरेको छ ।

नेपाल सरकार र स्विट्जरल्यान्ड सरकार बीचको द्विपक्षीय सम्झौताबमोजिम हेल्भेटास नेपालको प्राविधिक सहयोेगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा १० स्थानीय तह रहेको खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकामा सामी परियोजना सञ्चालन भइरहेको छ । वैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धिमूलक बनाउने क्षेत्रमा काम गर्दै आएको परियोजना बाल सेवा समाजको सहजीकरण सञ्चालन भइरहेको छ ।