आर्थिक

एन आई सी एशियाको शाखाहरूबाट डिजिटल प्रविधिमा आफैले खाता खोल्न सकिने

१२ साउन, काठमाडौं । एन आई सी एशिया बैंकले सेवाग्राही आफै बैंकको शाखा पुगेर डिजिटल रुपमा बचत खाता खोल्न मिल्ने डिजिटल अकाउन्ट प्रणालीको सुरुवात गरेको छ ।

ग्राहक महानुभावहरूले उक्त ‘डिजिटल अकाउन्ट ’ प्रणालीमार्फत भौतिक फारमको सट्टा खाता खोल्नको लागि आवश्यक आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षर लगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरी बचत खाता सहज तरिकाले खोल्न सक्ने व्यवस्था बैंकले गरेको छ ।

यस प्रणालीमा सेवाग्राहीहरूले चमत्कारिक सुविधाहरूले भरिपूर्ण ९ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजनाहरूमध्ये आफुले इच्छाएको खाता छनौट गरी बिना झन्झट आफ्नो खाता डिजिटल रुपमा खोल्न सकिने छ ।

कम्प्युटरमा दक्षता नपुगेका ग्राहकका निम्ति बैंककै कर्मचारीहरूको सहयोगमा डिजिटल रुपमा खाता खोल्न सकिने समेत व्यवस्था गरेको छ । जसका लागि बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमा छुट्टै डिजिटल लबीको व्यवस्था गरेको छ ।

देशको डिजिटल पहिलो बैंक’ बन्ने दीर्घकालीन लक्ष्यअनुरुप डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबारलाई बढाउनुका साथै आफ्ना अधिकतम सेवाहरूलाई डिजिटल माध्यममा लैजाने क्रममा डिजिटल अकाउन्ट प्रणाली जस्तो नवीनतम सुविधा ल्याएको छ । यसरी खाता खोल्दा ग्राहक महानुभावहरूलाई लामो फारम भर्ने तथा आफ्नो पालो कुरेर बस्ने झन्झटबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।