पु.समाचार

कालापानी क्षेत्रमा नेपालीको प्रवेश रोक लगाउन भारतको आग्रह

१२ साउन, काठमाडौं । भारतले कालापानी क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउन आग्रह गरेको छ । कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीलाई प्रवेश रोक्न भारतले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको हो ।

नेपालले ती क्षेत्र समेटेर नयाँ नक्सा जारी गरे पनि भारतले गुन्जी, कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका क्षेत्र अझै पनि आफ्नो दाबी गर्दै आएको छ ।

भारतको धार्चुला प्रशासनले नेपालको जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाउँदै सीमाबाट वार पार गर्नेहरुको संख्या बढ्ने भएकाले प्रवेशमा रोक लगाउन भनेको हो ।

हालैमात्रै नेपालले कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको छ ।