समाचार

बुटवल–पाल्पा सडक खण्ड तीन ठाउँमा फेरि गयो पहिरोः सडक अवरुद्ध

१२ साउन, काठमाडौं । बुटवल–पाल्पा सडक खण्ड तीन ठाउँमा फेरि पनि पहिरो गएको छ ।सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडक खण्ड फेरि पहिरोले अवरुद्ध भएको हो ।

अविरल वर्षासँगै पाल्पाको तिनाउ गाउँपालिका क्षेत्रको सडकमा तीन ठाउँमा पहिरो गएपछि गए रातिदेखि यो सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यो सडक वर्षात् सुरु भएपछि पटक–पटक अवरुद्ध हुँदै आएको छ । गएराति खसेको पहिरो पन्छाउन समय लाग्ने प्रदेश–५ प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन् । यो सडक भएर बुटवलबाट पाल्पा, स्याङजा, गुल्मी, कास्की, बागलुङ, पर्वत र अर्घाखाँचीका नागरिकले आवतजावत गर्दै आएका छन् ।