खेलकुद

प्रिमियर लिग चेल्सी र म्यान्चेष्टर युनाईटेड च्याम्पियन्स लिगमा छनोट

१२ साउन, एजेन्सी । प्रिमियर लिग क्लब चेल्सी र म्यान्चेष्टर युनाईटेड च्याम्पियन्स लिगमा छनोट भएका छन् । आईतबार राति लिग चरणको अन्तिम खेलमा जित निकाल्दै लण्डन क्लब चेल्सी र म्यान्चेष्टर शहरको युनाईटेड अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएका हुन् ।

युरोपेली क्लब फुटबलको सबै भन्दा ठुलो प्रतियोगितामा छनोट हुन दुवै टिमलाई जित्नुपर्ने दबाब थियो । लण्डन क्लब चेल्सीले उल्भ्स तथा म्यान्चेष्टर युनाईटेडले लेस्टर सिटीमाथि समान २-० गोल अन्तरको जित निकाल्दै यस सिजन शीर्ष चारमा पर्न सफल भए ।

दुई पटक खेलाडी सरुवा बजारमा प्रतिबन्ध भोगेको चेल्सीले युवा खेलाडीको साथ लिएर च्याम्पियन्स लिगको यात्रा तय गर्यो । मुख्य खेलाडी ईडेन हजार्ड स्पेनिस महारथी क्लब रियल मड्रिड लागेपछि चेल्सी निकै कमजोर देखिएको थियो ।

मुख्य प्रशिक्षक मौरिजियो सर्री समेत चेल्सी छाडेर सिरि ए क्लब युभेन्ट्स लागेपछि लण्डन क्लब समस्यामा देखिएको थियो । तर चेल्सीको कमाण्ड सम्हाल्न लण्डन आएका पूर्व खेलाडी फ्रान्क लाम्पार्डले युवा खेलाडीलाई अवसर दिए ।

युवा खेलाडीकै भरमा चेल्सीले शीर्ष चारमा रहदै च्याम्पियन्स लिगको अविश्वसनीय यात्रा तय गर्यो । लिगको अन्तिम खेलमा घरेलु मैदानमा जिताउन मासन माउन्ट नायक रहे । उनले एक गोल गर्नुका साथै थप एक गोलका लागि अवसर सिर्जना गरे ।

पहिलो हाफको ईन्जुरी समयमा डिबक्स बाहिरबाट फ्रिकिकमार्फत माउन्टले चेल्सीलाई अग्रता दिलाएका थिए । लगत्तै अर्को मिनेटमा माउन्टले निकालेको पासमा गोलकिपरलाई बिट गर्दै ओलिभर जिराउडले लण्डन क्लबका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए ।

अर्को खेलमा म्यान्चेष्टर युनाईटेडले लेस्टर सिटीलाई समान २-० गोल अन्तरले हराउँदै च्याम्पियन्स लिगमा आफुलाई छनोट गरायो । ७१ औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा युनाईटेडलाई अघि बढाएका थिए । खेलको अन्तिम मिनेटमा जेसे लिंगार्डले गोल गर्दै युनाईटेडको जित सुनिश्चित गरेका थिए ।

युनाईटेड ६६ अंक सहित तेस्रो स्थानमा रहदै लिगको अन्त्य गर्यो । समान अंक जोडेको चेल्सी समेत गोल अन्तरका आधारमा चौथो स्थानमा रहदै च्याम्पियन्स लिगको बाटो तय गर्यो । लेस्टर ६२ अंक सहित पाँचौ स्थानमा रहदै युरोपा लिगमा चित्त बुझायो ।