अन्तर्राष्ट्रिय

बङ्गलादेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख २३ हजार कट्यो

११ साउन, ढाका । बङ्गलादेशमा कोभिड–१९ का कारण थप सङ्क्रमितको सङ्ख्या आइतबार दुई हजार २७५ पुगेको छ । यससँगै बङ्गलादेशमा सङ्क्रमण पुष्टि हुनेको कूल सङ्ख्या दुई लाख २३ हजार ४५३ पुगेको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी नसिमा सुल्तानाले आइतबार सञ्चारकर्मीहरूसँग भने, “बङ्गलादेशमा विगत २४ घण्टामा थप ५४ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको र दुई हजार २७५ नयाँ विरामीमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै बङ्गलादेशमा कोभिड–१९ को महामारीका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ९२८ पुगेको छ भने दुई लाख २३ हजार ४५३ व्यक्ति सङ्क्रमित भएका छन् ।

बङ्गलादेशले विगत २४ घण्टामा १० हजार ७८ व्यक्तिको कोभिड–१९ परीक्षण भएको उल्लेख गरिएको छ ।

अहिलेसम्म निको भई घर फर्किने सङ्क्रमितको सङ्ख्या एक लाख २३ हजार ८८२ रहेको आइतबार मात्रै एक हजार ७९२ जना निको भएका उनले बताए ।

अधिकारीका अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.३१ प्रतिशत रहेको र अहिलेसम्म ५४.४४ प्रतिशत सङ्क्रमित निको भई घर फर्किसकेका बताइएको छ ।