पु.समाचार

अनशनरतको जीवनको रक्षा गर्न आयोगको आग्रह

११ श्रावण, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट बचाउन पिसिआर परीक्षणको बढाउनुपर्ने लगायतका माग राख्दै नौ दिनदेखि अनशनरत व्यक्तिको मागको सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा अनशनरत व्यक्तिको न्यायोचित मागहरु सम्बोधन गरी जीवनको अधिकार रक्षा गर्न र अनशनका कारण निजहरुको स्वास्थ्यमा पर्न सक्ने असरप्रति संवेदनशील भई सार्थक संवाद र यसअघिको सम्झौता कार्यान्वयन गरी समस्याको समाधान गर्न सरकारलाई आग्रह गरिएको छ ।

आयोगले आफ्ना मागहरु राख्ने क्रममा आमरण अनशनजस्तो कठोर बाटो नरोज्न र समस्या समाधानका लागि संवादलाई जोड दिन अनशनरत पक्षसँग समेत अनुरोध गरेको छ ।

विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ बाट नेपालसमेत प्रभावित भएको अवस्थामा यसको रोकथामका लागि सरकारद्वारा पिसिआर परीक्षणलाई तीव्रता दिनुपर्ने तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अनशनरत युवाबीच गत असार २२ गते भएको सम्झौताको प्रभावकारी कार्यान्वयन हुनपर्ने लगायतका मागहरु राखी नौ दिनदेखि दुई युवा वसन्तपुर क्षेत्रमा आमरण अनशनमा बसेका छन् ।

आयोगले आज वसन्तपुर क्षेत्रस्थित अनशनस्थल पुगेर अनशनरत युवाद्वयको माग तथा स्वास्थ्य अवस्थाको सम्बन्धमा पुनः अनुगमन गरेको छ । अनशनरत समिरा श्रेष्ठको अनशनका कारण स्वास्थ्यमा समस्या देखिन थालेको अनुगमनका क्रममा बुझिएको छ । यसअघि आयोगले गत असार १७ गते पनि अनशनरत व्यक्तिको सम्बन्धमा पाटनमा स्थलगत अनुगमन गरेको थियो ।