पु.समाचार

काठमाडौँमा थप आठ जनामा कोरोना सङ्क्रमण, जम्मा पुगे १८ हजार ६१३ सङ्क्रमण

११ साउन, काठमाडौँ । देशभर आज १३० जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या कूल १८ हजार ६१३ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ४४० रहेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापा, मोरङ र इलामका एक/एक र इलामका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका दुई जना, उदयपुर र तेह्रथुमका एक/एक जना र मोरङका २३ जना सङ्क्रमित थपिएका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका एक र महोत्तरीका दुई जनामा कोरोना सङ्क्रमण भएको छ । यस्तै, नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्साका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा दाङ र नुवाकोटका एक/एक, काठमाडौँका दुई र सोलुखुम्बुका दुई जना कोरोना सङ्क्रमति भएका छन् । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँ र पर्साका तीन/तीन जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका दुई, रौतहट र मकवानपुरका एक/एक जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा बाराका एक जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा कास्कीका एक, काठमाडौँका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गोरखा र कास्कीका दुई/दुई जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देही र अर्घाखाँचीका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

यस्तै भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका दुई, बर्दियाका छ र जुम्लाका एकजनामा कोरोना पुष्टि भएको छ । यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रोल्पाका तीन, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एक जना र सुर्खेतका ती जना, दैलेख प्रयोगशालामा दैलेखका २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका १४ जना, बाजुराका तीन जना र कञ्चनपुरका एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रवक्ता डा गौतमका अनुसार प्रदेश १ मा १८६, प्रदेश २ मा एक हजार ८७३, वाग्मती प्रदेशमा ४४४, गण्डकी प्रदेशमा २९४, प्रदेश ५ मा ३५८, कर्णाली प्रदेशमा ३६६ र सुदूरपश्चिम प्रदेशमा एक हजार ९१८ जना सङ्क्रमित छन् ।