बाग्मती

हिमालय एयरलाइन्सद्वारा अस्पतालाई स्वास्थ्य सामग्री सहयोग

११ साउन, काठमाडौँ । हिमालय एयरलाइन्सले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि विभिन्न अस्पताल तथा निकायलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सो एयरलाइन्सले आम्दा अस्पताल, दमक र सिसीएमसी, गुल्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हालै झापाको दमकस्थित आम्दा अस्पताललाई पोर्टेबल भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री तथा कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी), गुल्मीलाई पिसीआर उपकरण हस्तान्तरण गरिएको जनाएको छ ।

शनिबार पनि एरलाइन्सले पिसीआर एनएइ ३२, आइसिटी ओबी १६ उपकारण र अन्य अत्यावश्यक स्वास्थ्य उपकरण तथा सामग्री ५१ हजार २०० थान डिस्पोजेबल मेडिकल मास्क, ६०६ थान मेडिकल फेस शिल्ड, ५७५ थान मेडिकल चस्मा, ४० थानमेडिकल इन्फ्रारेड थर्मोमिटर, ३५ जोर प्रोटेक्टिभ बुट र पाँच जोर डिस्पोजेबल पञ्जा सिसिएमसी गुल्मीलाई प्रदान गरिएको कम्पनीले उल्लेख गरेको छ । यी सम्पूर्ण अत्यावश्यक स्वास्थ्य सामग्री परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र एयरलाइन्सका उपाध्यक्ष विजयश्रेष्ठले संयुक्तरुपमा सिसीएमसीको कार्यालय रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाललाई हस्तान्तरण गरेको कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले सङ्कटको क्षणमा स्वास्थ्य सामग्रीको परिमाण प्रयाप्त नभएको र नेपाल मात्र नभई विश्व नै कठिन चरणमा गुज्रिरहेको अवस्थामा एयरलाइन्सबाट प्राप्त सहयोगले कोभिड रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा निरन्तर खटिएका स्वास्थ्यर्कीलाई बचाउन मद्दत गर्ने बताए । एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले सरकारी अभियानमा सारथी बन्न पाउँदा कम्पनी गौरवान्वित भएको भन्दै कठिन परिस्थितिमा सरकारका आगामी काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

एयरलाइन्सका अध्यक्ष झोउ एन्योगले आम्दा अस्पताललाई एक पोर्टेबल भेन्टीलेटरसहित ५०० थान आरडिटी किट, १०० थान पिपिइ सेट, ५०० थानएन ९५ मास्क, दुई हजार जोर सर्जिकल मास्क, पाँच हजार जोर डिस्पोजेबल पञ्जा र पाँच इन्फ्रारेड थर्मोमिटर हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै अध्यक्ष झोउले महामारीको समयमा केही हदसम्म सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै व्यावसायिकता र सामाजिक दायित्वलाई एकसाथ अघि बढाइने बताए । हिमालयले सरकारको कोभिड–१९ कोषमा एक करोड रकम योगदानका अलावा एअरलाइन्सले हालसम्म १७७ टन अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्ति गर्न २४ वटा चार्टर्ड उडान गरेको छ । त्यस्तै विभिन्न मुलुकमा रहेका एक हजार १४० नेपालीलाई स्वदेश फिर्ता गर्न ६३ वटा उडान सफलतापूर्वक सञ्चालन गरिसकेको जनाएको छ ।