स्वास्थ्य

खुशीको कुराः दैनिक कोरोना निको हुने वृद्धि, संक्रमणमा कमी

१० साउन, काठमाडौं । नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर ‘डिस्चार्ज’ हुने ७० दशमलव ६ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल सङ्क्रमित १८ हजार १८३ मध्ये आजसम्म १३ हजार ५३ जना कोरोना जितेर घर फर्केका छन् ।

प्रदेश नं १ मा ७७५, प्रदेश नं २ मा दुई हजार ८९८, वाग्मती प्रदेशमा ४६८, गण्डकी प्रदेशमा एक हजार १२५, प्रदेश नं ५ मा तीन हजार ९००, कर्णाली प्रदेशमा एक हजार ५८५ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ३०२ जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

छ जिल्ला कोरोनामुक्त भएका छन् । प्रदेश नं १ को पाँचथर, भोजपुर र सङ्खुवासभा, वाग्मती प्रदेशको रसुवा र गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कारोनाका सक्रिय सङ्क्रमित नरहेको उनले बताए । पछिल्लो २४ घण्टामा नयाँ १०९ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । विभिन्न २७ प्रयोगशालामा गरिएको चार हजार ७५ नमूना परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।

आज सबैभन्दा बढी डोटीमा २६ सङ्क्रमित थपिएका छन् । यस्तै सप्तरीमा ११, पर्सा र डडेल्धुरामा आठ/आठ, कपिलवस्तु र जाजरकोटमा छ/छ, दाङमा पाँच, पाल्पा, रौतहट र नवलपरासी पूर्वमा चार, बारा, गुल्मी, कालीकोट, अछाम, दैलेख र बैतडीमा तीन/तीन, काठमाडौँ, बाँके, बर्दिया र मुगुमा दुई/दुई तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, तनहुँ र हुम्लामा एक/एक जनामा सङ्क्रण पुष्टि भएको छ । मुलुकभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा पाँच हजार ३८५ सङ्क्रमितको उपचार भइरहेको छ ।

थप एकको मृत्युः दुःखद

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । बाराको परवानीपुर गाउँपालिका–८ निवासी १७ वर्षीया युवतीको कोरोना सङ्क्रमणबाट वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

सङ्क्रमित युवतीमा कोरोनाका लक्षण देखिएको मन्त्रालयले जनाएको छ । युवतीमा अक्सिजनको मात्रा कम देखिएको, पखला लागेको, जीउ काम्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको उनले जानकारी दिए । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ ।