समाचार

सिल गरिएको गजेन्द्रनारायण अस्पतालको आकस्मिक कक्ष खुल्ला

१० असार, सप्तरी । सप्तरीको राजविराजस्थित सिल गरिएको गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक (इमर्जेन्सी) कक्ष आजबाट सञ्चालन भएको छ । विष सेवन गरी भर्ना भएका एक बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गत शुक्रबार राति ७ बजेदेखि सिल गरिएको आकस्मिककक्षको सेवा सञ्चालन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झाले जानकारी दिए ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय एक बिरामीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि आकस्मिककक्षमा रहेका बिरामीलाई अन्य वार्डमा सिफ्ट गरेर आकस्मिककक्षलाई निसङ्क्रमण गरिएको छ । आकस्मिककक्ष निसङ्क्रमणपश्चात बिरामीलाई पुनः अकास्मिककक्षमा स्थान्तरण गरी सेवा दिन थालिएको उनले बताए ।

बिरामीमा कोरोना पोजेटिभ देखिएपछि नियमित परीक्षण र रेखदेखमा खटिएका चार चिकित्सकसहित १४ स्वास्थ्यकर्मीलाई क्वारेन्टिन गरिएको छ । स्वास्थ्यकर्मीको टोलीलाई राजविराजस्थित दुई होटेलमा क्वारेन्टिनमा राखिएको हो । क्वारेन्टिनमा पठाइएका एक चिकित्सक भने होटल नगई राजविराजस्थित निजी अस्पतालमा खटिरहेका छन् ।

राजविराज–६ निवासी ७३ वर्षीय व्यापारीको यही साउन १ गते राति मृत्यु भएपछि मृतकको परिवारका पाँच सदस्यका साथै घरसँगै रहेको उनको पसलमा काम गर्ने दुई कामदार, सरसफाइ गर्ने महिला, छिमेकी दम्पती, चिया पुर्याउने पसलेको परिवारका चार जना पनि सङ्क्रमित भएको पुष्टि भएको थियो ।

पसलमा कार्यरत सङ्क्रमित एक कामदारकी श्रीमती, छोरी, भतिजा र भतिजी तथा अर्का कामदारकी ३२ वर्षीया श्रीमती पनि सङ्क्रमित भएकी छिन् । उनी गजेन्द्रनारायण सिंह अस्पतालमा नर्स पदमा कार्यरत छिन् । सङ्क्रमित सरसफाइ गर्ने ३६ वर्षीया महिला पनि अस्पतालमा कार्यरत सरसफाइ कर्मचारी हुन् । अस्पतालमा कार्यरत दुई कर्मचारीमा कोरोना पुष्टि भएपछि अस्पतालका सबै १९८ चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा ४६ बिरामीको स्वाब सङ्कलन गरी पिसीआर परीक्षण गर्दा विष खाएर उपचाररत बिरामीमा शुक्रबार साँझ सङ्क्रमण देखिएको थियो । अन्य सबै कर्मचारी, चिकित्सक र बिरामीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

आकस्मिककक्षमा कार्यरत १४ स्वास्थ्यकर्मी क्वारेन्टिन भएपछि अस्पतालको सेवा प्रभावित भएको थियो । सप्तरीमा सङ्क्रमितको सङ्ख्या बढेर ४२६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।