समाचार

दैनिक कोरोना सङ्क्रमित भेटिन थालेपछि सिरहा रोड ‘सिल’

१० साउन, राजविराज । सप्तरीको राजविराजमा दैनिक कोरोना भाइरसका सङ्क्रमित भेटिन थालेपछि राजविराजको सिरहा रोडलाई ‘सिल’ गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवका अनुसार राजविराज–६ का एक जना ७३ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि समुदायमा कोरोना भाइरस फैलिएकाले सिरहा रोडलाई ‘सिल’ गरिएको छ । उनले राजविराज नगरपालिका–६ को राम मन्दिरदेखि सखडा रोड जाने बाटोसम्म निषेधित क्षेत्र कायम गरी ‘सिल’ गरिएको बताए ।

सप्तरीको राजविराजमा कोरोनाका सङ्क्रमित तीव्र रुपमा थपिन थालेपछि जोखिम बढ्दै गएको जनाइएको छ । पछिलो पटक स्वाब परीक्षणपछि राजविराज–६ कै एकै परिवारका चारसहित सात जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि त्यहाँ सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले तत्काल ‘सिल’ गर्नुपरेको स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए ।

पछिल्लो रिपोर्टअनुसार राजविराज–६ मा चियानास्ता पसल सञ्चालन गर्दै आएको एउटै परिवारमा चार जनालाई कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार ६९, २९ र २२ वर्षीय पुरुष तथा ४० वर्षीय महिलामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । स्थानीय प्रशासनले राजविराज नगरपालिका–६ लाई केन्द्रित गरी सिरहा रोडलाई ‘सिल’ गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत साउन १ गते कोरोनाका कारण मृत्यु भएका ७३ वर्षीय व्यापारीको परिवारका पाँच जना सदस्यसहित छरछिमेकमा कोरोना पोजिटिभ पाइएको छ । सप्तरी जिल्लाको राजविराजमा कोरोना सङ्क्रमण समुदायमा फैलिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि आज तेस्रो दिन पनि राजविराज बजार सुनसान देखिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिकाभर अर्को आदेश नभएसम्मका लागि बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । सप्तरी जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या ४१८ पुगेको छ । यसमध्ये २८६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रञ्जित झाले बताए ।