समाचार

क्वारेन्टिनमासँगै बसेकी पत्नीलाई मात्र कोरोना सङ्क्रमण

१० साउन, झापा । मेचीनगर नगरपालिका वडा नं १० को होटल क्वारेन्टिनमा भारतबाट आएर एउटै कोठामा बसेका एक दम्पतीमध्ये पत्नीमा मात्र कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

एक साताभन्दा अघिदेखि धुलाबारीको रोयल निर्वाण होटलको एउटा कोठामा बसेका दम्पतीको स्वाब परीक्षण गर्दा पत्नीमा कोभिड–१९ पुष्टि भएको र पतिमा सङ्क्रमण नदेखिएको मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले बताए ।

उनीहरुको स्वाब परीक्षण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको थियो । पतिमा कोरोना नभएको रिपोर्ट शुक्रबार नै आएको थियो भने पत्नीमा कोरोना सङ्क्रमण रहेको रिपोर्ट आज मात्र आएको हो ।

सङ्क्रमण पुष्टि भएकी महिलालाई उपचारका लागि कोभिड हस्पिटल लगिएको र उनका पतिलाई पुनः क्वारेन्टिनमै राखिएको संयोजक बरालले जानकारी दिए । सङ्क्रमित बसेको कोठालाई निसङ्क्रमित गरिएको र सङ्क्रमित पत्नीसँगै कोठामा बसेका पुरुषको दोस्रोपटक स्वाब परीक्षण गरिने भएको छ ।

मेचीनगरमा होटल क्वारेन्टिनमा बसेकाहरुमा कोभिड–१९ को सङ्क्रमण भेटिएको यो दोस्रो घटना हो । यसअघि मेचीनगर–६ काँकडभिट्टामा रहेको अर्को होटलमा बसेका एक पुरुषमा समेत सङ्क्रमण पुष्टि भएको थियो ।