प्रदेश 1

जिल्ला सहकारी सङ्घ झापाद्वारा पिसीआर मेसिन खरिद गर्न सहयोग

१० साउन, सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित कोटिहोममा कोरोना परीक्षणका लागि पिसीआर मेसिन खरिद गर्न जिल्ला सहकारी सङ्घ झापाले २५ लाख सहयोग गरेको छ ।

सङ्घले विभिन्न सहकारी संस्थामार्फत सङ्कलन गरेको रकम ‘एकका लागि एक अभियान’का सहसंयोजक विनोद बस्नेतलाई आज प्रदान गरिएको थियो । सो रकमकोे चेक जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकाल, उपाध्यक्ष गीता कुँवर र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख लक्ष्मी उप्रेतीले संयुक्तरूपमा प्रदान गरेका थिए ।

सहारा नेपाल सहकारी संस्थासहित विभिन्न २८ वटा सङ्घसंस्थाको अगुवाइमा यहाँका नागरिकस्तरबाट प्रयोगशाला स्थापना गरिएको छ । तर, औपचारिकरूपमा सञ्चालनमा भने आएको छैन । अभियानअन्तर्गत एक करोड ६८ लाख सङ्कलन भइसकेको र ४७ लाख खाद्यान्न, भिटिएम, आरडिटी किट खरिदलगायतका शीर्षकमा खर्च भएको बताइएको छ ।

कोटिहोममा स्थापना गरिएको प्रयोगशाला प्रदेश नं १ सरकारलाई हस्तान्तरण गर्ने तयारीसमेत भइरहेको अभियान संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।