शिक्षा

डुबानबाट प्रभावित जनताले तत्काल सुरक्षित अनुभूति गर्न पाउछन्ः मन्त्री पोखरेल

१० साउन, महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बाढीको कटान र डुबानबाट प्रभावित जनताले तत्काल सुरक्षित छु भन्ने अनुभूति हुने गरी राहत, उद्धारका काम हुने बताएका छन् । महोत्तरीको भङ्गाहा नगरपालिका–४ पलारको रातु नदीको बाढी कटान प्रभावित दलित बस्तीको निरीक्षण गर्दै उनले तत्काल नदीको धार बस्तीतिर नआउने व्यवस्था गरिने जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जनताको तटबन्ध कार्यालय र सिँचाइ डिभिजन कार्यालयका प्रमुखसहित बाढी कटान बस्तीमा पुग्नुभएका मन्त्री पोखरेलले नदीको धार व्यवस्थित गर्न र कटान प्रभावितलाई तत्काल राहत पुर्याउन निर्देशन दिए । “जनताले सरकार खोज्ने आपद्विपद्मै हो ।तत्काल राहत तथा उद्धारको काम बढाइहाल्नुपर्यो ।”

रातु नदी किनारको बाँतर जाति समुदायका दलित बसोबास बाहुल्यताको पलारमा यसपालि गतअसार अन्तिम साता र यही साउन पहिलो साताको मुसलधारे वर्षासँगैको बाढी पसेपछि यहाँका बासिन्दा चिल्लीबिल्ली परेका थिए । मन्त्री पोखरेल निर्वाचित हुनुभएको महोत्तरी–१ को सो बस्तीमा ४० घर बाँतर र केही थारू परिवारको बसोबास छ । अत्यन्त गरिब र अवसरबाट पछि पर्दै आएका बाँतर यहाँका आदिवासी दलित हुन् ।

पछिल्ला दुईपटकको वर्षासँगैको बाढीले उत्तरी क्षेत्रमा कटान र दक्षिणी क्षेत्रमा डुबान गराएको छ । गत मङ्गलबारयता पानी थामिए पनि बाढीले मक्काएका गरिब बस्तीका झुप्रा अहिले धमाधम भत्कने र लड्दै गएका छन् । जिल्लामा अहिलेसम्म कटानबाट भन्दा डुबानबाट बढी जनसङ्ख्या प्रभावित भएको छ । पानी थामिएको पाँच दिन भइसक्दा पनि जिल्लाका २० बस्तीभित्रको पानी अझै सुकेको छैन ।

यही साउनको पहिलो साताको बाढीले बगाएर भङ्गाहा–६ का एक जनाको गत मङ्गलबार मृत्यु भएको थियो । वर्षाकै कारण दुला पानीले भरिएपछि बग्रेल्ती सर्प बाहिर निस्कँदा सर्पदंशका घटना पनि बढेका छन् । गत बुधबार सर्पदंशबाट पनि भङ्गाहा–५ कै बाँतर समुदायकै एक जनाको मृत्यु भएको थियो । त्यसैगरी जताततै पानी डम्म भरिँदा धानको रोपो पनि गल्दै गएको बस्तीका अगुवा चौठी बाँतरले जानकारी दिए । प्रजिअ कृष्णबहादुर कटुवालले जिल्लास्थित सबै कार्यालयको समन्वयमा राहत उद्धारका कार्यक्रम तत्काल सञ्चालन गरिने प्रतिबद्धता जनाए ।