समाचार

बन्दाबन्दी अन्त्यपछि गति लिँदै सफाइ अभियान

१० साउन, काठमाडौँ । साउनबन्दाबन्दी खुलेसँगै राजधानीको वाग्मतीलगायत यसका सहायक नदी, चक्रपथका विभिन्न खण्डमा सफाइ अभियानले गति लिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी गरिएको बन्दाबन्दीका क्रममा पनि सफाइ अभियान भने जारी थियो । चैत ११ गतेदेखि बन्दाबन्दी शुरु भएपछि चैत १५ गते शनिबार अभियानकर्मी नदीमा पुग्न सकेनन् । त्यसदिन पनि अभियानकर्मीले टोलटोलमा सफाइ अभियानलाई जारी राख्दै कोरोनाबाट बच्न चेतना फैल्याउने काम गरेका थिए । त्यसपछिका शनिबार भने नदी किनार नजिकै निवास भएका अभियानकर्मीले नदीमै गएर सफाइ गरे । नदी किनारभन्दा टाढा निवास भएका अभियानकर्मीले भने टोल सफाइलाई नै निरन्तरता दिएका थिए ।

वाग्मती सफाइ महाअभियानको ३७६औँ हप्तामा आज पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको सफाइ अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा भएको थियो । पशुपति क्षेत्रको नदी किनारमा विगतमा भन्दा सफा भेटिएको अभियानकर्मी खरेलले सुनाए ।

यसैगरी शङ्खमूल क्षेत्रको सफाइ अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा भयो । यस क्षेत्रको वाग्मती मनोहरा दोभानमा सफाइ गरिएको थियो । त्यस क्षेत्रमा वर्षात्मा जम्मा बढेको झाडी फाँडेर फूल रोपिएको अभियानकर्मी पौडेलले बताए । नदी किनारमा जम्मा भएको फोहर सङ्कलन गरी कुहिने र नकुहिनेलाई छुट्याएर व्यवस्थापन गरिएको थियो । सफाइमा अभियानकर्मी किशोरसिंह शाही, प्रिया लामिछाने, रामशरण कार्की, नारायणकुमार श्रेष्ठ, शिखा मास्के, दुर्गा दुलाल, हनुमान टोल विकास समिति, ओम शान्तिलगायत संस्थाका पदाधिकारीको पनि सफाइ अभियानमा सक्रियता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३३६औँ हप्तामा त्रिभुवन विमानस्थलको उत्तरी भेगमुनिको गाई बाच्छा संरक्षण स्थलनजिकैको नदी किनारमा सफाइ गरिएको छ । वर्षे भेलका कारण नदीमा छिर्नसक्ने अवस्था नभएकाले किनारमा जम्मा भएको फोहर टिपेर साङ्केतिक रुपमा सफाइ अभियानलाई निरन्तरता दिइएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो । यस क्षेत्रको नदी किनारमा वाग्मती सुन्दरता सरोकार मञ्चका नेतृत्वमा सफाइ हुँदै आएको छ ।

विष्णुमती सफाइको ३०४औँ हप्तामा टोखा नगरपालिका– ९ स्थित आनन्द टोलको पुलबाट गुम्बाको पुलसम्म सफाइ गरिएको छ । सो अवसरमा विष्णुमती कोरिडोरमा वृक्षरोपण पनि गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए । पूर्वमन्त्री एवं सांसद भीमसेनदास प्रधानसमेत सफाइ र वृक्षरोपण अभियानमा सक्रिय हुनुभएको थियो । कार्यक्रममा नगरपालिकाको वडा नं ८, ९, १० र ११ का वडाध्यक्ष, सामुदायिक प्रहरी, जागरण र सिद्धेश्वर टोल, बसपार्क मनोहरा सडक उपभोक्ता समिति, तारकेश्वर सरसफाइ तथा वातावरण संरक्षण प्रालीलगायत संस्थाका पदाधिकारीको सक्रियता थियो ।

नदी किनारमा वृक्षरोपणसहित निःशुल्क गुर्जो वितरण

आलोकनगर सफाइको १७५औँ हप्तामा काठमाडौँ महानगरपालिका– १० र ३२ क्षेत्रका विभिन्न सडक चोक एवं नदी किनारमा सफाइ गरी दुई डोको फोहर व्यवस्थापन गरिएको अभियानकर्मी प्रमिला पौडेलले जानकारी दिए ।

सो अवसरमा अभियानकर्मीको सक्रियतामा आलोकनगर क्षेत्रमा अमला, अम्बा, एभोकाडो, कोइरालो, उखु, करिपत्ता, टिम्मुर, लप्सी, लेमनग्रासलगायत जातका करिब १०० वटा बिरुवा रोपिएको थियो । वृक्षरोपण कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिका– १० का अध्यक्ष रामकुमार केसीलगायत जनप्रतिनिधि, अभियानकर्मीको पनि सक्रियता थियो । सो अवसरमा सरकारका सहसचिव किशोर जोशीले गुर्जोको बिरुवा निःशुल्क वितरण गरेका थिए । कोरोनाबाट बच्न शरीरमा रोग प्रतिरोधात्मक शक्ति विकास गर्न गुर्जोको पात उपयोगी हुने तथ्य स्थापित भएको छ ।

चक्रपथ उत्तर क्षेत्र सफाइको १७५औँ हप्तामा गोंगबु चोकबाट नयाँ बसपार्क क्षेत्रमा १५ जना अभियानकर्मी जम्मा भएर सफाइ गरिएको अभियानकर्मी तिलक बस्नेतले जानकारी दिए । सफाइबाट १५ डोको फोहर व्यवस्थापन गरिएको थियो । उपत्यकामा जनसङ्ख्या कमी, कोरोनाबाट बच्न करिब चार महिना बन्दाबन्दी गरिएकाले पनि आज कम फोहर भेटिएको अभियानकर्मी लोकबहादुर टण्डनले सुनाए ।

चक्रपथ पश्चिम खण्डमा राहत वितरण

चक्रपथ पश्चिम क्षेत्र सफाइको १५७औँ हप्तामा बन्दाबन्दीका कारण आर्थिक अभावमा छट्पटाएकाका लागि १५औँ चरणको राहत वितरण गरिएको अभियानकर्मी ताराबहादुर कुँवरले बताए । रोटरी क्लब अफ त्रिपुरेश्वरको सहयोगमा भएको राहत वितरण चक्रपथस्थित बाफल क्षेत्रका २२ परिवार र नैकाप भञ्ज्याङका १६ परिवारलाई गरिएको जनाइएको छ ।

क्लबका अध्यक्ष भुवन श्रेष्ठ र कमलपोखरी निवासी ज्योति रायमाझी थापाको सहयोगमा राहत जुटाइएको हो । ललितपुरस्थित गोदावरी खोला सफाइ अभियानको ७३औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले देशभर सफाइ जागरण ल्याएको छ । वाग्मतीका धेरैजसो सहायक नदीमा सफाइ अभियान शुरु भएको छ । उपत्यकामा चक्रपथलगायत क्षेत्रमा पनि सफाइ अभियान शुरु भएको छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हाल देशभर १०६ भन्दाबढी स्थानमा सफाइ अभियान शुरु भएको जनाइएको छ ।