गण्डकी प्रदेश

विकट गाउँमा पुग्यो स्वास्थ्य सेवाः स्थानीयवासी निकै खुशी

बालबालिका बिरामी

१० साउन, गलकोट । जिल्लाको तमानखोला गाउँपालिकाले गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच बढाउँदै लगेको छ ।

स्थानीयवासीको स्वास्थ्य सुविधाको पहुँचलाई गुणस्तरीय र सहज बनाउने उद्देश्यले गाउँपालिकाले विभिन्न वडामा स्वास्थ्य चौकी, स्वास्थ्य इकाइ र स्वास्थ्य परामर्श केन्द्र सञ्चालन तथा प्रभावकारी सेवामा ध्यान दिएको हो ।

जनताको स्वास्थ्य उपचारलाई सरल र सहज बनाउनका लागि पालिकामा रहेको वडामा स्वास्थ्य उपचार केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । “सामान्य बिरामी पर्दा घण्टौँ लगाएर स्वास्थ्य संस्थामा पुग्नुपर्ने आम नागरिकको समस्यालाई बुझेर पालिकाले सबै वडामा स्वास्थ्य उपचारका लागि स्वास्थ्य चौकी, स्वास्थ्य इकाइ र स्वास्थ्य परामर्श केन्द्र स्थापना गरेका छौँ”, उनले भने, “स्थापना भएका यी स्वास्थ्य संस्थालाई थप व्यवस्थित र सेवासुविधा पनि बढाउँदै लैजाने योजना छ ।”

स्वास्थ्य केन्द्र नहुँदा घण्टौँ लगाएर बुर्तिबाङसम्म पुग्नुपर्ने बाध्यता अहिले हटेर गएको उनको भनाइ छ । स्वास्थ्य संस्थाको सुधार गरेर जनमुखी स्वास्थ्य सेवा प्रदान गर्नका लागि गाउँपालिका योजनाबद्ध हिसाबले लागिरहेको अध्यक्ष बुढा मगरको भनाइ छ । गाउँपालिकाले तीन वडामा स्वास्थ्य चौकी, तीन स्थानमा स्वास्थ्य इकाइ र तीन स्थानमा स्वास्थ्य केन्द्र स्थापना गरेको छ । साविक बोङ्गादोभान गाविस, तमान गाविस र खुङ्खानी गाविसमा एक/एक वटा स्वास्थ्य चौकी थिए भने गाउँपालिकाले अहिले वडा नं २ को बोङ्खानी, वडा नं ४ को लामेला र वडा नं ६ को नर्जाखानीमा स्वास्थ्य इकाइ स्थापना गरेको छ ।

यसैगरी वडा नं १ को बेंसीमा, वडा नं २ को सिलगुम र वडा नं ५ को थास्पुरीमा स्वास्थ्य परामर्श केन्द्र स्थापना गरी नागरिकको स्वास्थ्य उपचारलाई सहज बनाएको छ । बागलुङकै विकट मानिने तमानखोला गाउँपालिकामा बिस्तारै स्वास्थ्यको पहुँच पुग्न थालेपछि स्थानीयवासीलाई ठूलो राहत मिलेको छ । स्वास्थ्य संस्था नजिकमा नहुँदा धेरै नागरिकले उपचार नपाएर अकालमै ज्यान गमाउनु परेको थियो ।

गाउँमा स्वास्थ्य संस्था नहुँदा सामान्य बिरामी हुँदा पनि बुर्तिबाङ धाउनु परेको पीडा तमान लाम्मेलाकी नरमता सिर्पालीले बताए । “अहिले त कोही बिरामी भए नजिकै ओखतिमुलो हुन्छ, उतिबेला त कति गाह्रो थियो”, उनले भने, “ज्वरो आउने, टाउको दुख्यो भने पनि दिनभर लगाएर तल बुर्तिबाङ पुग्नुपर्दथ्यो ।”

गाउँपालिकाले घरमै सुत्केरी बनाउने शून्य होम डेलिभरी अभियानलाई अघि बढाइरहेको छ । केही वर्ष अगाडिदेखि शुरु भएको यो अभियानले सार्थकता पाउँदै गएको छ । गत वर्ष १०७ जना महिला स्वास्थ्य संस्थामा डेलिभरी भएकामा यस वर्ष १३३ जना पुगेको छ । यस तथ्याङ्कलाई हेर्दा होम डेलिभरी हुनेको सङ्ख्यामा कमी आएको गाउँपालिकाका स्वास्थ्य संयोजक डिलबहादुर छन्त्यालले जानकारी दिए ।

गाउँपालिकाले विभिन्न तीन स्थानमा वर्थिङ सेन्टरसमेत स्थापना गरेको होम डेलिभरीलाई शून्य पार्ने प्रयास गरिरहेको संयोजक छन्त्यालको भनाइ छ । वडास्तरबाटै होम डेलिभरीलाई शून्य पार्नका लागि गाउँपालिकाले योजना बनाएर लागेको उनको भनाइ छ ।

“गाउँपालिकाले स्वास्थ्य जाँच तथा गर्भ जाँचका लागि गाउँमै स्वास्थ्य संस्था स्थापना गरेपछि गाउँमा भएका गर्भवती र गर्भमा रहेका बच्चाको समग्र अवस्थाका विषयमा जानकारी लिन सजिलो भएको छ”, उनले भने, “उपचार गर्न नसकेका ज्येष्ठ नागरिक र खतरामा परेका गर्भवतीलाई तत्काल उपचार गर्न सहज भएको छ ।”

बर्थिङ सेन्टर सञ्चालनमा रहे पनि अहिलेसम्म भिडियो एक्स–रे मेशिन नहुँदा समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । गाउँपालिकाले विभिन्न स्थानमा स्वास्थ्य संस्था स्थापना र स्वास्थ्य उपचार उपलब्ध गराएपछि स्थानीयवासीमा खुशियाली छाउनाका साथै स्वास्थ्य जाँच गराउन पनि सजिलो भएको छ