प्रदेश 1

कोटिहोममा नै पिसिआर ल्याब सञ्चालन हुनेः मन्त्री कार्की

१० साउन, दमक । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्न झापामा शुरु गरिएको ‘एकका लागि एक अभियान’लाई कसैले अवरोध पु¥याउन नसक्ने बताएका छन् ।

अन्तरराष्ट्रिय झापाली समाजले शुक्रबार साँझ आयोजना गरेको भच्र्युअल बैठकमा उनले कोरोना भाइरस पहिचानका लागि गरिने ल्याबको सङ्ख्या बढाउनुपर्नेमा स्थापना भइसकेको ल्याब चल्न नदिने कुरा आउनु गलत भएको बताए । कहीँकतैबाट अवरोध आए त्यसलाई हटाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले प्रदेश १ मा कम्तीमा पाँच वटा ल्याब हुनुपर्नेमा हाल तीन वटा मात्र रहेको र स्थापना भइसकेको ल्याब तुरुन्त सञ्चालनमा ल्याउन आवश्यक भएको बताए।

मन्त्री कार्कीले प्रदेशमा ल्याब पर्याप्त नरहेको र बढीभन्दा बढी ल्याब सञ्चालनमा ल्याउन खाँचो भएको औँल्याउँदै यो पवित्र अभियानलाई कसैले मनोबल कमजोर पार्ने गर्नु हुँदैन । तपाईंहरु (एकका लागि एक) अघि बढ्नुहोस्, कहाँ के मिल्दैन म कुरा गर्छु भने ।

अभियानले कनकाइको कोटीहोमस्थित समर्पण भवनमा ल्याब स्थापना गरेर सरकारलाई हस्तान्तरण गर्ने यसअघि नै बताइसकेको छ । तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइका नाममा झापामा मेची अस्पताललाई मात्र ल्याब सञ्चालनको स्वीकृति दिने पत्र आएको बताइएको छ ।

“जनस्तरबाट सञ्चालनमा आउन लागेको यो ल्याब कुनै हालतमा रोकिनु हुँदैन”, मन्त्री कार्कीले भने, “सङ्घीय सरकारले गरेको निर्णय सच्याउनुपर्छ ।”

बैठकमा जिल्ला समन्वय प्रमुख सोमनाथ विश्वकर्माले मेची अस्पतालबाहेक अन्यत्र ल्याबको आवश्यकता नरहेको बताएपछि मन्त्री कार्कीले सरकारले निजी क्षेत्रलाई पनि न्यूनतम शुल्क लिएर ल्याब सञ्चालनको अधिकार दिइसकेकाले सञ्चालनमा अवरोध आउन नसक्ने प्रस्ट पारे । मेची अस्पतालको मातहतमा ल्याब सञ्चालन हुन नसके एकका लागि एक अभियानलाई कानून संशोधन गरेर भए पनि अनुमति दिनुपर्ने उनको भनाइ छ ।

समाजका अध्यक्ष छत्र सुब्बाको अध्यक्षतामा भएको बैठकमा सङ्घीय सांसद एलपी साँवा, राजेन्द्र लिङ्देन, नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालगायत सहभागी थिए । उनीहरुले कोटीहोममा पिसिआर ल्याब स्थापना भइसकेको र यथाशक्य चाँडो सञ्चालनमा ल्याउन सरकार लाग्नुपर्ने धारणा राखेका थिए ।

बैठकमा अभियानका संयोजक महेन्द्रकमार गिरीले समुदाय, सहकारी र सरकारको सहकार्यमा ल्याब सञ्चालनमा आउन लागेको बताउँदै सो कार्यका लागि हालसम्म एक करोड ६८ लाख रुपैयाँ सङ्कलन भइसकेको र ४७ लाख खाद्यान्न, भिटिएम, आरडिटीलगायतमा खर्च भएको जानकारी दिए ।

समाजका तर्फबाट पिसिआर ल्याब खरिदका लागि रकम सङ्कलन संयोजक तथा वरिष्ठ उपाध्यक्ष दीपक खनालले साउन १२ गते बिर्तामोडमा एक कार्यक्रमकाबीच अभियानलाई २५ लाखको चेक हस्तान्तरण गरिने बताए ।