सुदूरपश्चिम

उच्च अदालत दिपायल राजपुरमा लागुऔषधका मुद्दा बढी

१० साउन, डोटी । उच्च अदालत दिपायल राजपुरमा गत आर्थिक वर्षमा लागुऔषधका मुद्दा सबैभन्दा बढी दर्ता भएका छन् । लागुऔषध ओसारपसारदेखि सेवनका घटना गत आवमा उच्च अदालत दिपायल राजपुरमा कूल ६९ मुद्दा दर्ता भएका पाइएको छ ।

उच्च अदालतका रजिष्ट्रार रणबहादुर कटवालका अनुसार ६९ लागुऔषधका मुद्दा दर्ता भएकामा कूल ३५ फछ्र्योट भएका छन् भने अब ३४ मुद्दा फछ्र्योट हुन बाँकी रहेका छन् । दर्ता भएका ती मुद्दाहरुमा खैरो हिरोइनदेखि गाँजा–चरेस सम्मका रहेका छन् ।

अदालतमा दर्ता भएका मुद्दामा सबैभन्दा बढी कैलालीका रहेका अदालतले जनाएको छ । त्यसैगरी जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् । अदालतमा जबर्जस्ती करणीका मुद्दा कूल ६६ दर्ता भएकामा २८ फछ्र्योट भएका छन् भने ३८ मुद्दा फछ्र्योट हुन बाँकी छन् । ज्यानसम्बन्धी ५२ वटा मुद्दा दर्ता भएका रजिष्ट्रार कटवालले बताए ।

अदालतको न्याय सम्पादन सम्बन्धीमा स्थानीयवासीको विश्वास बढेका कारण मुद्दा दर्ताको सङ्ख्या बढ्दै गएका कामु मुख्य न्यायाधीश शेषराज शिवाकोटीले बताए । अदालतमा गएको आर्थिक वर्षमा कूल ६८३ थान मुद्दा दर्ता भएकामा ३७६ मुद्दा फछ्र्योट अर्थात् कूल मुद्दाको ५५.०५ प्रतिशत मुद्दा फछ्र्योट भएका छन् भने विभिन्न कागजात अपुग भएका कारण ३०७ मुद्दा फछ्र्योट हुन बाँकी रहेका बताइएको छ ।

अदालतमा परेका देवानी मुद्दाअन्तर्गत लिखित बदरमा ३४ मा १४ मुद्दा फछ्र्योट भएका छन् भने २० मुद्दा फछ्र्योट हुन बाँकी छन् । त्यसैगरी अंश मुद्दामा २२ परेकामा १३ फछ्र्योट भएका छन् भने नौ मुद्दा फछ्र्यौट हुन बाँकी, दुनियाँवादी फौजदारीअन्तर्गत जालसाजी मुद्दामा ३६ मुद्दा दर्ता भएकामा २६ फछ्योट भएका छन् भने १० मुद्दा बाँकी रहेका, रिट पुनरावलोकनमा २८ मुद्दा दर्ता भएकामा १८ फछ्र्योट भएका छन् भने १० फछ्र्योट हुन बाँकी रहेका छन् । उच्च अदालतका अनुसार अदालतको अपहेलना, बालबालिका तथा राजश्व चुहावटमा दर्ता भएका सबै मुद्दा फछ्र्योट भई न्याय सजायसमेत तोकिसकिएको छ ।