पु.समाचार

गोरखा, धार्चे लापुमा पहिरो जाँदा नौलीखोला थुनियोः ६० घरधुरी उच्च जोखिममा

१० साउन, काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका ७ लापुमा पहिरो जाँदा नौलीखोला थुनिएको छ । पानीको बहाव बढ्दै गएपछि थुनिएको पानी निकास हुन नसक्दा लापुबेसीका करिब ६० घरधुरी उच्च जोखिममा परेका छन् । अविरल वर्षासँगै आएको पहिरोले शुक्रबार रातिदेखि खोलाको पानी थुनिएको स्थानीय सुशिल गुरुङले जानकारी दिएका छन् ।

‘पहिरासँगै झरेको ढुङ्गा खोलाको बीचमा बसेकोले खोलाको सबै पानी थुनिएको छ,’ गुरुङले भने, ‘राति ११ बजेदेखिनै पानी थुनिएको हो । धमिलो पानीको ठुलो ताल बनेको छ। कतिबेला फुट्ने हो थाहा छैन ।’ गुरुङका अनुसार, रातभरी पानी परेकाले खोला बढेको र पहिरो जाने क्रम रोकिएको छैन । ताल फुट्ने जोखिमले स्थानीय त्रसित बनेका छन् ।

खोलामा पानी थुनिएकोले पैदल यात्रा नगर्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलेले बताए । स्थानीय प्रशासनले खोला नजिक बसोबास गर्ने स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । शनिबार बिहान नेपाली सेना र नेपाल प्रहरीसहितको उद्धार टोली घटनास्थलतर्फ पठाइएको प्रजिअ पौडेलले जानकारी दिएका छन् ।