राजनीति

नेता नेपालको ओलीतर्फ कटाक्षः म बाहेक दुनियाँमा कसैको अर्थ छैन भन्नु गलत

९ साउन, काठमाडौं । सोही कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विधिको पालना नगरेर ‘मै स्टेट हुँ’ भनेर आफूलाई सर्वोपरी ठान्न थालियो भने त्यसले कोही कसैको हित नगर्ने बताए ।

उनले भने, “आफूलाई मात्रै केन्द्रबिन्दुमा राख्न थालियो, आफूबाहेक दुनियाँमा कसैको अर्थ छैन भन्ने ठान्न थालियो, त्यस्तो अहंकारको भावनाबाट चल्न थालियो भने त्यस्तो अवस्थामा त्यो व्यक्ति र प्रवृत्तिको पतन हुनेबाहेक अर्को केही पनि हुँदैन ।”

उनले पार्टी नेतृत्वमा रहेका हामी कोही त्यस्तो विचार र प्रवृत्तिमा चुर्लुम्म डुबेका छौँ भने त्यसबाट उम्किन सके जोगिने भन्दै समय छँदै विचार गर्नुपर्ने बताए । कम्युनिस्ट आन्दोलनका हितका लागि हामीले आफूलाई सुधार गरेर जानुपर्नेमा जोड दिँदै वरिष्ठ नेता नेपालले नयाँ शिराबाट अगाडि बढेर रुपान्तरित हुनुको विकल्प नभएको उल्लेख गरे ।

नेता नेपालले भने, “नेपाली जनताको नासोका रूपमा रहेको यो आन्दोलन र कम्युनिस्ट पार्टीलाई राम्ररी अगाडि लिएर जान सुविचारित, सुसङ्गठित ढङ्गले काम गर्नका लागि नयाँपुस्तालाई सग्लोरूपमा नै दिने ढङ्गले सोचौँ ।” आफूसँगसँगै आन्दोलनलाई नै समाप्त पार्ने मूर्खतापूर्ण काम कोही कसैबाट नहोस् भन्नेमा आफ्नो शुभेच्छा र सद्भाव रहेको बताए ।

उनले भने, “तपाईंहरूलाई चिन्ता छ कम्युनिस्ट पार्टी फुट्छ कि भनेर, फुट्दैन । कसैले फुटाउन खोज्यो भने चोइटिएर जाला तर कम्युनिस्ट पार्टी फुट्नेवाला छैन ।” कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने काम आफूहरुले गरिरहेको भन्दै नेता नेपालले हामीले सक्छौँ भन्ने सङ्कल्प र आँटका साथ पार्टीलाई अगाडि बढाउनुपर्ने धारणा राखे ।

उनले भ्रम पैदा गर्ने वा कुप्रचार गर्नेको पछि लाग्नुपर्ने कुनै कारण नभएको भन्दै तरङ्गीत नहुनसमेत पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले भने, “तपाईंहरूले विश्वास गरेर हामीलाई अगाडि बढाएका छन् । त्यो विश्वासमा घात नहोस् भन्ने कुराप्रति तपाईंहरू पनि सजग रहनुपर्छ । यो आन्दोलनलाई नयाँ उचाइमा पु¥याउनका लागि अहिले अवसर प्राप्त गरेका छौँ ।”

पार्टीभित्रको समस्यालाई पनि छलफलबाट समाधान गर्न अधिकतम कोसिस गरिरहेको जानकारी दिँदै नेता नेपालले आफूहरुका निम्ति व्यक्ति प्रमुख नभई विधि, नीति, पद्धति महत्वपूर्ण भएको बताए ।

पार्टीको निर्णयलाई मान्दिन भन्ने छुट कोही कसैलाई नभएको उल्लेख गर्दै वरिष्ठ नेता नेपालले भन्नुभयो, “म मान्दिन भन्ने छुट कसैलाई पनि छैन । सबैमा यो चेत पलाउनेछ । हामी सबैले जिम्मेवार भएर सोचौँ । आफूलाई अपरिहार्य नठानौँ, सबैको बुद्धि, खुबी, क्षमता, योग्यता र आआफ्नो भूमिका सम्झेर अगाडि बढौँ र कमीकमजोरी सुधारौँ ।”