पु.समाचार

समाचार सम्प्रेशणमा थप जिम्मेवार हुन काउन्सिलको आग्रह

९ साउन, काठमाडौं । प्रेस काउन्सिल नेपालले कोभिड– १९ को समयमा सञ्चारमाध्यम र त्यसमा कार्यरत पत्रकारलाई थप जिम्मेवार हुन आग्रह गरेको छ ।

काउन्सिलद्वारा यहाँ आज आयोजित महामारीमा स्वास्थ्यअन्तर्गत ‘मिडियामा रिपोटिङ र पेशागत आचारसंहिता मिडिया संवाद’ कार्यक्रममा कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले स्वास्थ्य क्षेत्र र स्वास्थ्य बिट हेर्ने पत्रकारबीच समन्वय हुनुपर्ने आवश्यकता औँल्याए ।

उनले नागरिकस्तरमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्रको धेरै महत्व हुने उल्लेख गर्दै आफ्नो ज्यान जोखिममा राखेर पत्रकारले सूचना दिने, स्वास्थ्यकर्मीले उपचार गर्ने र सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्ने हुँदा यी तीनबीचको तालमेल मिल्न आवश्यक रहेको छ भने । पछिल्लो समयमा सामाजिक सञ्चालनको चरम दुरुपयोग भइरहेको बताउँदै उहाँले त्यसको सही प्रयोग गर्न र दुरुपयोग रोक्न सबैको उत्तिकै भूमिका हुने धारणा व्यक्त गरे ।

काउन्सिलका बोर्ड सदस्यद्वय खिलबहादुर भण्डारी र ईश्वरीप्रसाद ओझाले आगामी दिनमा स्वास्थ्यकर्मी र स्वास्थ्य बिटमा लेख्ने पत्रकारबीच सातै प्रदेशमा छलफल गरिने जानकारी दिँदै कस्तो समाचार सम्प्रेषण गर्नेबारे मिडिया र पत्रकार स्वयं जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले सार्वजनिक स्वास्थ्य र मेडिकल जर्नालिस्टबीच एकले अर्कोलाई आरो लगाउनुभन्दा पनि समन्वय गर्नुपर्ने बताए । मानसिक रोग विशेषज्ञ डा रितेश थापाले हेल्थबिटमा रिपोटिङ गर्दा छुट्टै गाइडलाइनको आवश्यकता पर्ने बताए । मानसिक रोग विशेषज्ञ डा. केदार मरहठ्ठाले स्वास्थ रिपोटिङले पब्लिकमा पार्ने असरबारे प्रस्तुति दिनुहुँदै पत्रकारिताका माध्यमबाट मानिसको जीवन बचाउन पत्रकारको अह्म भूमिका हुने बताए । मनोचिकित्सक सङ्घ नेपालका अध्यक्ष डा सुदर्शन प्रधानले आत्महत्याको समाचार दिनुभन्दा पनि आत्महत्या कसरी रोख्न सकिन्छ भन्ने समाचार लेख्नुपर्ने आवश्यकता औँल्याए ।

काउन्सिलका उपप्रशासकीय अधिकृत एवं आचारसंहिता अनुगमन समिति (विद्युतीय) का सचिव रामशरण बोहराले पछिल्लो समय पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने १०१ वटा अनलाइनलाई नेपालभित्र सञ्चालन नहुने गरी बन्द गरिएको जानकारी दिए ।

उनले कोभिडकै सन्दर्भमा १४१ वटा सामग्री आचारसंहिताविपरीत आएको र त्यसमा ९० प्रतिशत स्वास्थ्यकै भएको जानकारी दिए । उनले १४१ वटा सामग्रीमा १३० स्वास्थ्यसम्बन्धी सामग्री नै आचारसंहिता प्रतिकूल रहेको बताए । उनले ३० वटा स्वास्थ्यसँग सम्बन्धित उजुरीको उदाहरण दिँदै सुर्तीजन्य तथा मदिराजन्य सामग्रीको विज्ञापन गर्दा अनिवार्य चेतनामूलक सन्देश राख्नुपर्नेमा कतिपयले नराखेको बताए ।