अन्तर्राष्ट्रिय

जाम्बियाका १५ सांसद कोरोनाभाइरस सङ्क्रमित

९ साउन, लुसाका । कोरोना परीक्षण गराउँदा जाम्बियाका १५ सांसद कोरोनाभाइरसबाट सङ्क्रमित रहेको पुष्टि भएको छ ।

देशका १५६ सांसदहरुको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएका छन् ।

स्वास्थ्यमन्त्री चितालु चिलुफ्याले सङ्क्रमण पुष्टि भएका सवै सांसदहरूलाई सम्पर्क गरेर अहिले आइसोलेसनमा राखिएको जानकारी दिए ।

कोरोना अपडेट जानकारी गराउने क्रममा उनले सङ्क्रमित कुनै पनि सांसद गम्भीर अवस्थामा नरहेको पनि स्पष्ट पारे ।

उनले संसद सचिवालयमा कार्यरत अरु १५ जना कर्मचारीमा पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको बताए ।

जाम्बियामा पछिल्लो २४ घण्टामा १५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै देशभरी कुल सङ्क्रमितको सङ्ख्या तीन हजार ८५६ पुगेको छ ।

कोरोनाभाइरसकाका कारण जाम्बियामा शुक्रबारसम्म ८३५ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।