समाचार

पहिरोका कारण अवरुद्ध मध्यपहाडी राजमार्ग तीन दिनपछि खुल्यो

गलकोट, ९ साउन । अविरल वर्षापछि आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) राजमार्गको बागलुङ खण्ड सञ्चालनमा आएको छ ।

पहिरोका कारण मङ्गलबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड बिहीबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको हो । बागलुङ नगरपालिका–३ बोक्सेमा गएको ठूलो पहिरोका कारण अवरुद्ध बनेको लोकमार्ग आयोजना कार्यालयको सक्रियतामा तीन दिनपछि खुलाइएको मध्यपहाडी पुष्पलाल लोकमार्ग कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताए ।

“एकतर्फी यातयात सञ्चालनमा आएको छ”, थापाले भने, “ठूलो पहिरो भएकाले पानी पर्नासाथ पुनः लोकमार्ग अवरुद्ध हुनसक्ने अवस्था छ ।”पहिरोले सडक अवरुद्ध हुँदा तीन दिनदेखि सवारी साधन बीच बाटोमै अलपत्र परेका थिए ।

बुधबारदेखि नै पहिरो हटाउन प्रयास भए पनि ठूलो पहिरो भएका कारण समस्या भएको लोकमार्ग खुलाउन खटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिएका छन् । उनले जतिबेला पनि पुनः पहिरो खस्ने भएकाले रातको समयमा सवारी साधन सञ्चालन गर्न रोक लगाउनुपर्ने बताए ।

भासियो लोकमार्ग

लगातारको वर्षाले मध्यपहाडी लोकमार्गको गलकोट खण्डको ठाउँठाउँमा भासिएको छ । गलकोट नगरपालिका–१ र २ का विभिन्न स्थानमा सडक भासिएको गलकोट नगरपालिकाले जनाएको छ ।

बिहीबार लोकमार्ग वर्षातका कारण भासिएपछि गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, नगरउपप्रमुख रेणुका काउचा मगरसहितको टोलीले लोकमार्गको स्थलगत अवलोकन निरीक्षणसमेत गरेको थियो ।

दुदिलाभाटीको भुङ्खानीमा ४० मिटर, काफलठुटामा १० मिटर, चौराहामा १० मिटर, जम्दारे घुम्तीमा २० मिटर सडक भासिएको नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिएका छन् ।