पु.समाचार

अर्कै केटालाई मनपराएको भन्दै युवतीमाथि एसिड प्रहार गर्ने व्यक्ति पक्राउ

९ साउन, काठमाडौं । अर्कै केटालाई लाई मनपराएको भन्दै युवतीमाथि एसिड प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने दुई व्यक्तिलाई डल्लुबाट पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् । उनीहरु बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ परेका हुन् ।

उनीहरुले केटीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको बताएका छन् । बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो ।

कार्कीले एसिड प्रहार गर्ने व्यक्तिहरुलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले दुई जनालाई पक्रन सफल भएको हो । एसिड प्रहार भएको घटना सार्वजनिक भएलगत्तै प्रहरीले काठमाडौं उपत्यकाका सबै नाका बन्द गरी हुलिया परिपत्र गरेको थियो ।

मोहम्मदको आग्रहअनुसार मुन्नाले युवतीमाथि रक्सीको बोतलमा राखेर एसिड प्रहार गरेको खुलेको छ । युवती र मोहम्मदबीच काठमाडौंको एक क्यासिनोमा काम गर्ने क्रममा चिनजान भएको थियो । मोहम्मदलाई ती युवतीले चिन्ने भएकाले उनले मुन्नालाई एसिड हान्न लगाएका थिए ।