खेलकुद

इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्ट्स पराजित

एजेन्सी । इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्ट्स पराजित भएको छ । उपाधि नजिक रहेको युभेन्ट्स बिहीबार राति उडिनेजेसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

उडिनेजेको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित भएको हो । खेलको ४२ औं मिनेटमा म्याथिस डी लिग्टले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ५२ औं मिनेटमा ल्लिजा नेस्टोरभोस्कीले गोल गर्दै उडिनेजेलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा सेको फोफानाले गोल गर्दै उडिनेजेलाई २–१ को जित दिलाए ।

उडिनेजेसँग पराजित भएसँगै युभेन्ट्सले उपाधि जित्न अर्को खेल कुर्नुपर्ने भएको छ । उपाधिका लागि युभेन्ट्सलाई ३ अंकको आवश्यकता रहेको छ । उडिनेजेलाई हराउँन सकेको भए युभेन्ट्स तीन खेल अगावै च्याम्पियन बन्ने थियो । तर, युभेन्ट्सले च्याम्पियन बन्ने मौका गुमाएको छ ।

युभेन्ट्स लगातार नवौं सिजन सिरी ए को उपाधि जित्ने संघारमा रहेको छ । युभेन्ट्सले सन् २०११र१२ को सिजन यता लगातार उपाधि जित्दै आइरहेको छ । यस सिजनको उपाधि जितेमा युभेन्ट्सले ३६ औं सिरी ए उपाधि हात पार्नेछ ।

घरेलु टोलिसँग पराजित भएको युभेन्ट्सले ८० अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको एटलान्टा भन्दा ६ अंकले अघि रहेको छ । उडिनेजे ३९ अंक जोडेर १५ औं स्थानमा उक्लिएको छ ।