प्रदेश 1

ओखलढुङ्गामा यातायात व्यवस्था कार्यालय खोलिने निर्णय

८ साउन, ओखलढुङ्गा । ओखलढुङ्गामा यातायात व्यवस्था कार्यालय खुल्ने भएको छ । प्रदेश नं १ मन्त्रिपरिषद्को बिहीबारको बैठकले यहाँ यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङको प्रस्तावमा प्रदेश सरकारले ओखलढुङ्गामा आसपासका क्षेत्रलाई समेत कार्यक्षेत्र कायम गरेर यातायात व्यवस्था सम्बन्धिका सबै काम गर्ने गरी कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । सवारी लाइसेन्स, दर्ता, नवीकरणलगायतका सबै काम ओखलढुङ्गाबाट हुने गरी कार्यालय स्थापना गर्न राज्यमन्त्री गुरुङले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गरेका थिए । राज्यमन्त्री गुरुङको प्रस्तावअनुसार सरकारले तत्काल प्रक्रिया अगाडि बढाएर सेवा शुरु गर्ने गरी निर्णय भएको भौतिक पूर्वाधार विकास राज्यमन्त्री गुरुङका स्वकीय सचिव टीका धमलाले जानकारी दिए ।

यसअघि ओखलढुङ्गा र आसपासका जिल्लाका सेवाग्राही यातायात सम्बन्धिको काम गर्न सिरहाको लहान, राजधानी काठमाडौँलगायतका ठाउँमा पुग्नुपर्ने बाध्यता थियो । यही साउन १ गते करदाता सेवा कार्यालय शुरु भएको ओखलढुङ्गामा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने प्रदेश सरकारको निर्णयले जिल्लावासी खुशी भएका छन् ।