समाचार

खोज अनुसन्धानमा पुरातत्वलाई संलग्न गराउन निर्देशन

८ साउन, काठमाडौँ । अन्तरराष्ट्रिय सम्बन्ध समितिले पुरातात्विक महत्वका सम्पदा, प्राचीन स्मारक र अभिलेखहरूको संरक्षणमा खोज–अनुसन्धान गरी गुरुयोजना निर्माणमा पुरातत्व विभागको संलग्नता अनिवार्य गर्दै युनेस्को मापदण्डभित्र रहेर काम अघि बढाउन निर्देशन दिएको छ ।

समितिका सभापति पवित्रा निरौलाको अध्यक्षतामा आज भएको बैठकले संविधानमा उल्लेखित तीन तहको साझा अधिकार क्षेत्रभित्र रहेर सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा पुरातात्विक महत्वका सम्पादको संरक्षण समयानुकूल ढङ्गले विकास गर्न निर्देशन दिएको हो ।

परम्परागत सीप र कलालाई नयाँपुस्तामा हस्तान्तरण गर्न विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रमको विकास गर्दै दक्ष कालिगढ एवं कलाकार उत्पादन गर्ने कार्ययोजना बनाउन पनि समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यसैगरी समितिले पशुपतिनाथ, चाँगुनारायण, लुम्बिनी, जानकी मन्दिरलगायत देशभरिका धार्मिकस्थलहरूको जग्गा अतिक्रमण भए नभएको यकिन गर्न, अतिक्रमण भएको भए योजनानुसार सम्बन्धित निकायलाई जिम्मा लगाउन तथा पशुपति क्षेत्रको गुरुयोजनाका सम्बन्धमा सरोकारवालासँग छलफल गरी राष्ट्रियहित हुनगरी निर्णय गर्न निर्देशन दिएको छ ।

समितिले अन्तरराष्ट्रिय र विषयगत क्षेत्र हेर्न आठ वटा समूह गठन गरेको छ भने समूहको संयोजक चयनको अधिकार समूहलाई नै दिएको छ ।