उर्जा

विद्युत् प्राधिकरणबाट सवा तीन अर्ब राजश्व सङ्कलन

८ साउन, वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले आर्थिक वर्ष २०७६/७७ मा ३४ करोड १७ लाख ७१ हजार ९८३ युनिट विद्युत् बिक्री गरी रु तीन अर्ब २५ करोड २३ लाख ७७ हजार ५२१ राजश्व सङ्कलन गरेको छ । वितरण केन्द्रले गत आवमा कालोसूचीमा रहेका ग्राहकमध्ये ३७ ग्राहकलाई जरिवाना गरी १८ लाख ८१ ह्जार ६४८ उठाएको केन्द्र प्रमुख शम्भु कुसियत यादवले राससलाई बताए ।

खम्बामा तार घुसाउने र मिटरबाट विद्युत् चुहावट गर्ने ११० ग्राहकलाई कारवाही गरी २५ लाख ९० हजार जरिवानावापत उठाइएको सो कार्यालयले जनाएको छ । सत्चालीस हजार ८२९ उपभोक्ताले विद्युत् प्रयोग गर्दै आएकामा केन्द्र एक हजार २२८ ग्राहकको लाइन काटी पाँच करोड ३८ लाख बक्यौता उठाउन सफल भएको छ ।

विद्युत् चुहावटलाई ४ दशमलव ५ प्रतिशतमा झार्ने वार्षिक लक्ष्य रहेकामा कार्यालयले कडाइ गरी अहिले वार्षिक विद्युत् चुहावट ३ दशमलव ८ प्रतिशतमा झारेको छ । केन्द्रले विद्युत् चुहावट रोक्न नियमित छड्के तथा अनुगमन थालेको छ ।