लुम्बिनी

तुलसीपुर बजारमा ट्राफिकको ‘ह्वीललक’ अभियान

८ साउन, तुलसीपुर । सडक मिचेर अव्यवस्थितरूपमा पार्किङ गरेका सवारी साधनलाई ट्राफिक प्रहरी तुलसीपुुरले ‘ह्वीललक’ अभियान शुरु गरेको छ । तुलसीपुरमा उक्त अभियान आजदेखि शुरु गरिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले बताए ।

सवारीमा ‘ह्वीललक’ गरेपछि चलाउन पनि नमिल्ने र त्यसको साँचो ट्राफिक प्रहरीसँग रहनेछ । अव्यवस्थित पार्किङ गरिएको सवारीमा ‘ह्वीललक’ गरेपछि सम्बन्धित सवारीधनीले राजश्व नबुझाउँदासम्म नखोलिनेसमेत उनको भनाइ छ । यसले सडक मिचेर पार्किङ गर्ने कार्यको न्यूनीकरण हुनेसमेत प्रमुख केसीको भनाइ छ । लकडाउन खुलेपछि अहिले सडकमा अव्यवस्थितरूपमा सवारी साधन पार्किङ गर्दा आवतजावतमा समेत समस्या हुने गरेको छ ।

ट्राफिक प्रहरीको यो अभियानको भने सर्वसाधारणले गुनासो गरेका छन् । तुलसीपुर बजारमा व्यवस्थित पार्किङ नहुँदा जथाभावी पार्किङ गर्न बाध्य भएको तुलसीपुर–५ निवासी प्रवीण केसीले बताए । “उचित पार्किङ छैन, पार्किङ नहुँदा अहिले जहाँ पायो त्यही पार्किङ गर्न बाध्य छौँ”, उनले भने, “पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएको छैन ।”