समाचार

पूर्वसांसद बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि

७ साउन, काठमाडौँ । कम्युनिष्ट नेता एवं पूर्वसांसद बर्मन बुढाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गर्नुअघि उनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अपर्ण गरे । लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुभएका कम्युनिष्ट आन्दोलनका अगुवा बुढाको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा ९० वर्षको उमेरमा निधन भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल , सभामुख अग्नि सापकोटा, पूर्वसभामुखद्वय कृष्णबहादुर महरा, ओनसरी घर्ती, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, मन्त्रीहरु रामबहादुर थापा, वर्षमान पुन र विष्णु रिजाल, सीपी गजुरेल, अमिक शेरचन, देव गुरुङलगायत नेता तथा कार्यकर्ताहरुले पशुपति आर्यघाट पुगेर उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिएका थिए । अध्यक्ष प्रचण्डले नेता बुढाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए । बुढा तत्कालीन एकता केन्द्रको तर्फबाट २०४८ सालमा रोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद बनेका थिए ।