बाग्मती

वाग्मती प्रदेशमा १३ वटै जिल्लामा तीव्रता गतिमा सडक विस्तार

७ साउन, मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको स्रोतसाधन प्रयोग गरी प्रदेशको १३ वटै जिल्लामा भौतिक पूर्वाधारको विकासको साथै सडक सञ्जाललाई जनताबीच जोड्न पुल निर्माण कार्यमा तीव्रता ल्याइएको बताएका छन् । वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालय मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले मकवानपुरको कैलाश गाउँपालिका–१०, दुबो खोलामा निर्मित पक्की पुलसहित वाग्मती प्रदेशको १० जिल्लामा निर्मित ३२ वटा पक्की पुलको एकैसाथ उद्घाटन गरे ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको अघिल्लो आर्थिक वर्ष र गत आव २०७५/७६ मा गरी निर्मित ३२ वटा पुलको रु ७३ करोड ६० लाख ४३ हजार बजेटमा निर्माण कार्यसम्पन्न गरिएको सो मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए । मकवानपुरको कैलाश गाउँपालिकाको दुबो खोलामा निर्मित पुल रु दुई करोड ५१ लाखको लागतमा निर्माण कार्य सम्पन्न गरिएको यातायात पूर्वाधार निर्देशनालयका निर्मित निर्देशक डा सहदेव भण्डारीले बताएका छन् ।

वाग्मती प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लामा चालू आव २०७७/७८ भित्र १२० वटा पक्की पुल र १३ वटा झोलुङ्गे पुल निर्माण कार्यसम्पन्न गर्न एक अर्ब बजेट विनियोजित गरिएको पनि उक्त मन्त्रालयका सचिव तेजराज भट्टले राससलाई बताएका छन् । प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लामा २० हजार ३०० वर्ग किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य पनि सम्पन्न गरेको बताइएको छ ।

समारोहमा मुख्यमन्त्री पौडेलले सरकारले सडक सञ्जालको मार्फत कृषिमा क्रान्ति ल्याउन विभिन्न चरणमा नीतिगत कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्दै आएको उल्लेख गर्नुहुँदै प्रदेशको राजधानी हेटौँडामा नभई प्रदेशको हरेक जिल्लामा गएर विकासले लिएको गतिलाई नागरिकले समीक्षा गर्न आग्रह गरे । मकवानपुरको मनहरी गाउँपालिका नजिक रहेको परेवा भिरबाट कैलाश गाउँपालिकातर्फ सडक सञ्जाल जोड्ने क्रममा बाइपास गरी पुल निर्माण गर्न सरकारलाई बजेट छुट्याइसकेको उल्लेख गर्दै उनले हामीले नयाँ प्रविधिको प्रयोगबाट विकासलाई छिटोछरितो दिगो बनाउन सरकारले गुरुयोजना तर्जुमा गरी कार्यान्वयमा ल्याइसकेक छौँ भने ।

भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले सरकारले भौतिक पूर्वाधारको विकासको सँगै प्रदेशको विभिन्न जिल्लामा विद्युतीय बस सञ्चालन गर्नेतर्फ सङ्घीय सरकारसँग सहकार्य भइसकेको र केही महिनापछि विद्युतीय यातायात बस सञ्चालन गरिने बताए । उनले प्रदेशको १० जिल्लालाई जोड्ने पुष्पलाल चक्रपथ निर्माणका लागि बजेट विनियोजित गरिएको र नेपालको एकमात्र पुरानो हेटौँडा–वीरगञ्ज जोड्ने १०३ वर्षअघिको करिब ३०० मिटरको चुरे सुरुङमार्गलाई सञ्चालनमा ल्याउन प्राविधिक खटिसकेको र आगामी एक वर्षभित्रै निर्माणकार्य सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको उल्लेख गरे ।

वाग्मती प्रदेशसभाका सदस्य क्रमशः सन्तबहादुर प्रजा, प्रेमबहादुर पुलामी र जुनेली श्रेष्ठले स्थानीय गाउँपालिकाले सिफारिस गरेको योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकताका साथ पूर्वाधार विकासमा कार्यान्वयन गर्ने पक्षमा तीव्रता ल्याउन आग्रह गर्नुहुँदै सरकार र स्थानीय निकायबीच सहकार्य र समझदारीको अभिवृद्धि हुनुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला समन्य समिति मकवानपुरका रघुनाथ खुलाल, मनहरी गाउँपालिकाको अध्यक्ष एकराज उप्रेति र भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाले प्रदेश सरकारले जनताका हितको निमित विकासको पूर्वाधार र आर्थिक समृद्धि ल्याउने कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर कार्यान्वय गर्नुपर्नेमा जोड् दिए । नेकपा जननेता पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसको पनि मुख्यमन्त्री पौडेलले उद्घाटन गर्नुहुँदै सम्मान व्यक्त गरे।