गण्डकी प्रदेश

तनहुँको पुल भत्किएपछि आवतजावतमा समस्या

७ साउन, दमौली । केही दिनअघि वर्षापछि आएको बाढीले तनहुँको म्याग्दे गाउँपालिका–४ र ७ जोड्ने पुल भत्किएको छ । पुल भत्किएपछि यहाँका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।

दुई वडा जोड्ने म्याग्दे खोलामाथि निर्माण गरिएको पुल बाढीका कारण भत्किएको म्याग्दे –७ का बासिन्दा एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दे गाउँ कमिटीका अध्यक्ष डिलबहादुर नेपालीले जानकारी दिए । “म्याग्दे खोलामा आएको बाढीले पुलको आधाभन्दा बढी भाग भत्किएको छ, पुलसँगै जोडिएको सडकमा पनि क्षति पुगेको छ”, नेपालीले भने, “पुल भत्किएसँगै स्थानीयवासीलाई खोला वारपार गर्न समस्या भएको छ ।”

तत्कालीन जिल्ला विकास समिति, गाउँ विकास समिति र स्थानीयवासीको श्रमदानमा १३ लाखको लागतमा उक्त पुल निर्माण गरिएको थियो । पुल भत्किएसँगै यहाँ सवारी साधन सञ्चालन बन्द गरिएको तथा मानिस वारपार गर्नका लागि बाँसको फट्ट राखिएको छ । “तत्कालका लागि मान्छे हिँड्न मिल्ने गरी वैकल्पिक व्यवस्थापन त गरिएको छ तर यहाँ पुनः पुल निर्माण गर्नुपर्छ”, नेपालीले भने ।

म्याग्देका अध्यक्ष मायादेवी रानाले तत्कालका लागि गाउँपालिकाले वैकल्पिक व्यवस्थापन गर्ने जानकारी दिए । “मानिस वारपार गर्नका लागि वैकल्पिक रुपमा केही व्यवस्थापन गाउँपालिकाले गर्छ, पुल निर्माणका लागि भने प्रदेश सरकारसँग अनुरोध गर्छौँ”, रानाले भने । यसै क्षेत्रबाट गण्डकी प्रदेशसभामा निर्वाचित सदस्य आशा कोइरालाले भत्किएको पुल पुनःनिर्माणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइने बताए ।

बाढीपहिराका कारण गाउँपालिकाका धेरै ठाउँमा सडक, पुल, कजवे, घरलगायत भत्किएका छन् । बाढीपहिराले भत्किएका संरचनाको यकिन तथ्याङ्क सङ्कलनको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । “हालसम्म ७१ घर पूर्णरुपमा क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ, सात वटै वडामा भएका क्षतिका विवरण वडा कार्यालयमार्फत सङ्कलन गरिरहेका छौँ”, उनले भने । नागिलाका अनुसार पहिराका कारण थुप्रै घर पनि जोखिममा छन् ।

राजमार्गमा सडक भासिएपछि

पृथ्वीराजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका–१ नाहालमा सडक भासिएपछि यातायात सञ्चालनमा कठिनाइ भएको छ । मङ्गलबार बिहान ८ बजे नाहालामा करीब १० मिटर सडक भासिएको थियो । सोही ठाउँमा डाइभर्सन बनाएर अपराह्न २ः३० बजेदेखि सवारी साधन सञ्चालन गरिए पनि राति पुनः समस्या आएको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी निरीक्षक जीतेन्द्र श्रेष्ठले जानकारी दिए । डाइभर्सन बनाइएको ठाउँ हिलाम्य र दबिने खालको माटो भएका कारण सवारी साधन सञ्चालन गर्न कठिनाइ भएको बताइएको छ ।

उनका अनुसार उक्त ठाउँमा मङ्गलबार राति १५–२० गाडी फसेका थिए । ती गाडी निकाल्ने क्रममा एक व्यक्ति घाइते भएका छन् । उक्त ठाउँमा फसेका ट्रक र बस निकालिए पनि अहिले उक्त बाटो ठप्प जस्तै छ । “डाइभर्सन बनाएर साना सवारी साधन सञ्चालन भए पनि राति बस, ट्रक फसेर समस्या भयो, क्रेन प्रयोग गरेरै १५–२० वटा गाडी निकाल्यौँ, ग्राभेलिङ नगरी सवारी चलाउन सकिँदैन”, उनले भने । बाटो बन्द भएका कारण डुम्रेतर्फ आएका करीब ९० र दमौलीतर्फबाट आएका एक सय सवारी साधन रोकिएका छन् ।

निरन्तर वर्षाका कारण मङ्गलबार तनहुँका विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध भएको थियो । पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका तथा म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा खसेको पहिरो रातिसम्म हटाएर राजमार्ग सञ्चालन गराइएको थियो ।

१४ घर विस्थापित

केही दिनदेखि निरन्तर परेको वर्षाका कारण बन्दीपुर गाउँपालिकामा १४ घरपरिवार विस्थापित भएका छन् । वर्षाका कारण पहिराले घर पूर्ण क्षति भएपछि ती विस्थापित भएका हुन् । बन्दीपुर–१ का चार, वडा नं ४ का चार, वडा नं ५ का दुई र वडा नं ६ का चार घर पूर्णरुपमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनका अनुसार विस्थापितले छिमेकी, आफन्तजन र आमा समूहको भवनमा आश्रय लिएका छन् ।

“मङ्गलबार साँझसम्म १४ घर पूर्णरुपमा क्षति भएको जानकारी प्राप्त भएको छ, सबै वडा कार्यालयमार्फत क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ”, थापाले भने । वर्षाका कारण गाउँपालिकाका सबै शाखा मार्ग पूर्णरुपमा अवरुद्ध भएको तथा थुपै्र घर जोखिममा रहेको थापाले जानकारी दिए । “यहाँका बाटाघाटा ध्वस्त भएका छन्, शेराटार, धरमपानी जाने बाटो त अत्यन्तै नराम्रोसँग बिग्रिएको छ”, थापाले भने, “शाखा मार्गको हालत पनि उस्तै छ ।”

स डुम्रेदेखि बन्दीपुर जाने मार्ग पनि ठाउँठाउँमा गएको पहिराले बन्द भएको छ । बन्द मार्ग खुलाउन केही दिन लाग्ने देखिएको थापाले जानकारी दिए । “पृथ्वी राजमार्गअन्तर्गत गाउँपालिकाका विमलनगर, याम्पा र पिप्लेमा पहिरो पन्छाउन समय लागेकाले बन्दीपुर जाने मार्ग खुलाउन डोजर उपलब्ध हुन सकेन”, थापाले भने । मङ्गलबार बिहान खसेको पहिराले विमलनगर र याम्पामा दुईदुई तथा पिप्लेमा एक ठाउँमा बाटो अवरुद्ध भएको थियो । वर्षाका कारण नाहाला खोला बढेर खेतबारी बगरमा परिणत भएको छ ।