गण्डकी प्रदेश

सराङकोट पहिरा पीडितलाई सहयोग

७ साउन, पोखरा । अविरल वर्षाका कारण गत असार २५ गते गएको सराङकोट पहिरामा ज्यान गुमाउनेको १३ अैाँ दिनको स्मरणमा मृतकका परिवारलाई राहत रकम सहयोग गरिएको छ ।

पोखरा महानगरपालिका–१८, सराङकोटका शिवबहादुर बानियाद्वारा अमेरिकामा रहेका नेपालीबाट सङ्कलित चार लाख १५ हजार मृत्यु भएका टङ्कबहादुर थापा, सोममाया थापा मगर, सुदान थापाका परिवारका लागि तीन लाख १५ हजारको अक्षकोष स्थापना गरिएको छ भने सोही पहिरोमा मृत्यु भएका इसिका राई, शीतल श्रेष्ठका परिवार र घाइते दुई जना समेतलाई एक लाख पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कुमार खड्काले सम्बन्धित परिवारलाई हस्तान्तरण गरेको हो ।

नेपाली काँग्रेस कमिटी पोखरा–१८ को आयोजनामा गरिएको स्मृति सभामा उक्त सहयोग रकम हस्तान्तरण गरिएको वडा सभापति शिवप्रसाद तिमिल्सिनाले जानकारी दिए । स्मृति सभामा प्रदेश सभासदस्य खड्काले प्राकृतिकरुपमा घट्ने हरेकलाई सहयोग गर्नु मानवीय कार्य भएको र घर परिवारविहीन भएकाको उचित संरक्षण गर्न प्रदेश सरकारसमक्ष सक्दो पहल गर्ने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य विन्दुकुमार थापाले पीडित परिवारको उचीत व्यवस्थापनका लागि जिल्ला प्रशासन, प्रदेश सरकार, महानगरपालिकाबाट केही सहयोग प्राप्त भए पनि दीर्घकालीन सहयोगका लागि सबैको सकरात्मक भूमिका आवश्यक हुने औँल्याए । वडाध्यक्ष रणबहादुर थापाले पीडित परिवारको व्यवस्थापन र सहयोगको लागि वडामार्फत आवश्यक पहल गरिरहेको बताए ।

सहयोगका लागि स्थानीयस्तर तथा बाह्यरुपमा खुला आह्वान गर्दै राहत कोषमार्फत पुनः स्थापना गरिने योजना रहेको विपद् व्यवस्थापन अर्थ समिति संयोजक सञ्जीवबहादुर थापामगर जानकारी दिए । सो पहिराबाट घटनास्थलमा एकै परिवारका तीन र छिमेकी दुईसहित पाँच जनाको मृत्यु भएको थियो भने चार जनाको उपचार भरहेको छ ।