समाचार

पुष्पलालको जन्मथलोमा वृक्षरोपण गरी स्मृति दिवस मनाइयो

७ साउन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस उनको जन्मथलो रामेछापमा वृक्षरोपण गरी मनाइएको छ । आज रामेछाप नगरपालिका–८ मा निर्माणाधीन रामेछापका सहयोगी मन समूहले बनाएको विराट पार्कमा स्मृतिसभा तथा वृक्षरोपण गरी नेकपा रामेछापले श्रेष्ठको सम्झना गरेको छ ।

नेकपा बागमती प्रदेश सदस्य एवं मन्थली नगरपालिका उपप्रमुख माया कुमारी कार्कीलगायत जिल्लास्तरका नेता कार्यकर्ताले पार्कमा विभिन्न प्रजातिका बिरुवा रोपी पुष्पलाल र उनले गरेका योगदानको सम्झना गरेका थिए । कार्यक्रममा पुष्पलालको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

नेकपाका केन्द्रीय सदस्य एवं नेकपाका जिल्ला इञ्चार्ज देवशङ्कर पौडेलले मुलुकमा भएका सबै आन्दोलन नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठको नीतिअनुसार भएको बताए । उनले पुष्पलाले संयुक्तरुपमा हुने आन्दोलनमात्रै सफल हुन्छ भन्ने नीति लिएकाले उनको नीतिअनुसार भएका आन्दोलन सफल भएको बताए ।

पुष्पलाल स्मृति प्रतिष्ठान रामेछापका अध्यक्ष तथा पूर्वसांसदसमेत रहनुभएका नेता पौडेलले कुनै पनि पार्टी नेता प्रधान नभई नीति प्रधान भएमात्रै चल्ने पुष्पलालको नीति रहेको बताए । उनले अहिले नेकपा पनि कतै पुष्पलालको नीति र योगदान विपरीत त गएको हैन भन्ने शङ्का उपशङ्का शीर्ष नेताको व्यवहारले उब्जिएको बताए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म वि सं १९८१ असार १५ गते रामेछापको भंगेरीमा भएको थियो । पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा उनको जन्म भएको थियो । पुष्पलाल श्रेष्ठ पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटिको अध्यक्ष पनि बनेका थिए ।

विसं १९९७ मा आफ्ना दाजु अमर शहीद गङ्गालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एक दिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तेले प्रज्वलित पार्नेछस्’ भनेका थिए । दाजुको यही शब्द पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको स्रोत बनेको थियो ।

विसं १९९८ मा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घको गठन गरेका थिए । भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउने पुष्पलालले वि सं १९९८ सालदेखि बन्दी जीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेतासँग गोप्यरूपले सम्पर्क राखी टङ्कप्रसाद आचार्यलगायत अरू नेताको नेलसहितको फोटो सन् १९४२ मा भारत, पटनाबाट प्रकाशित हुने जनता पत्रिकामा प्रकाशन गर्न मद्दत गरेका थिए ।

विसं २००४ मा नेपाली राष्ट्रिय काँग्रेसले नागरिक अधिकारको लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, सेहलता श्रेष्ठ, साहना प्रधानलगायतले गरे । जनताद्वारा गरिएको यही पहिलो जनआन्दोलनका कारण पद्म शमशेरले सुधारको कदम चाल्ने घोषणा गरे ।

माक्र्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपाली अनुवाद गरेका थिए । पुष्पलाको स्मृतिमा रामेछापको भंगेरीमा पुष्पलाल स्मृति पार्क निर्माण गरिदैै छ । सो कार्यका लागि सरकारले जग्गा अधिग्रहण गरी काम अघि बढाएको छ । अहिले यहाँ विभिन्न संरचना निर्माण हुँदैछन् ।