प्रदेश 1

एकल तथा विपन्न महिलालाई बाख्रा र सुँगुरका पाठा वितरण

७ साउन, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले तीन वडाका एकल महिला तथा आमा समूहमा आबद्ध विपन्न महिलालाई बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ । महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले वडा नम्बर–१ बाहुनीडाँडा, वडा नम्बर–२ डिकुवा र वडा नम्बर–४ बडहरेका एकल महिला तथा आमा समूहलाई बाख्रा र सुँगुरका पाठा वितरण गरेको हो ।

एकल महिला तथा समूहमा आबद्ध विपन्न महिलालाई आयआर्जनमा टेवा पुर्याउँदै आर्थिकरुपमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत नगरपालिकाको एकल महिला कोष र महिला आयआर्जनका लागि टेवा कार्यक्रमबाट प्रतिमहिला एक/एक वटा सुँगुरका पाठा र बाख्रा वितरण गरिएको नगरउपप्रमुख विमला राईले बताए । उनले भने, “नगरपालिकाबाट विनियोजन भएको एकल महिला कोष र महिला आयआर्जनका लागि टेवा कार्यक्रमको १५ लाख बजेटबाट नगरपालिकाका विभिन्न वडाका एकल महिला र आमा समूहमा आबद्ध महिलालाई बाख्रा र सुँगुरका पाठा निःशुल्क प्रदान गरिएको हो ।”

बाहुनीडाँडाका १६ एकल महिलालाई सुँगुरका पाठा र चार एकल महिलालाई बाख्रा वितरण गरिएको जनाइएको छ । डिकुवाका ४६ एकल महिलालाई सुँगुरका पाठा र चार एकल महिलालाई बाख्रा वितरण गरिएको हो । डिकुवाकै आमा समूहमा आवद्ध १८ विपन्न महिलालाई सुँगुरका पाठा र बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ । यस्तै, बडहरेका १८ एकल महिला र छ विपन्न महिलालाई बाख्रा वितरण गरिएको छ ।

बडहरेकै पातिखर्क र बडहरेका आमा समूहलाई एक/एक कुटानी पिसानीको मिल समेत प्रदान गरिएको छ । सोही कार्यक्रममा बडहरेका युवालाई खेलकुदका सामग्रीसमेत प्रदान गरिएको वडाध्यक्ष किशोर बस्नेतले बताए । नगरपालिकाले बाख्रा तथा सुँगुरको पाठा उपलब्ध गराएपछि एकल महिला तथा आमा समूहमा आबद्ध विपन्न महिला हर्षित भएका छन् । खेतीपातीबाहेक आम्दानीको अन्य स्रोत नभएको एकल महिला तथा आमा समूहमा आबद्ध विपन्न महिलालाई वडा कार्यालयको सिफारिसमा बाख्रा तथा सुँगुरका पाठा प्रदान गरिएको हो ।

यसैबीच, बडहरेका ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । ज्येष्ठ नागरिकप्रति सम्मान दर्शाउँदै आदर्श पात्रका रुपमा स्थापित गर्ने लक्ष्यकासाथ वडा कार्यालयले ८० वर्ष नाघेका ४८ ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । ज्ञान र अनुभवको श्रोतकारुपमा ८० वर्ष नाघेका वडाका २७ वृद्ध र २१ वृद्धालाई श्रद्धाका साथ दोसल्ला र खादा ओढाएर हर्लिक्ससमेत प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।