प्रदेश 2

सवारी दुर्घटनामा ४६ जनाको मृत्यु

७ साउन, जलेश्वर । जिल्लामा सवारी दुर्घटनामा परी गत आवमा ४६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय बर्दिबास, महोत्तरीका अनुसार आव २०७६/७७ मा सवारी दुर्घटनामा परी जिल्लामा ३१ पुरुष, १० महिला र पाँच बालबालिकाको मृत्यु भएको हो ।
विसं २०७६ साउन १ देखि असार ३१ गतेसम्म महोत्तरीमा कुल १७४ सवारी दुर्घटना भएकामा ९५ गम्भीर घाइते र ७३ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

कार्यालयका अनुसार दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल र स्कुटर सबैभन्दा बढी छन् । त्यसपछि जीप, कार, टेम्पो, भ्यान, ट्रक, ट्रयाक्टर तथा सबैभन्दा कम दुर्घटना हुनेमा माइक्रोबस रहेको छ । दुर्घटनाका कारणमा राजमार्गमा तीव्रगति, चालकको लापर्बाही, छाडा चौपाया, जङ्गली जनावर, चालकद्वारा मदिरा सेवन, क्षमताभन्दा बढी यात्रु तथा मालसामान बोकाइ, पैदलयात्रुले जथाभावी बाटो काट्नुलगायत रहेको ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ ।