प्रदेश 2

सर्पको डसाइबाट ४५ वर्षीय पुरुषको मृत्यु

७ साउन, जलेश्वर । महोत्तरी जिल्लाको भंगहा नगरपालिका –५ मा विषालु सर्पको डसाइबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शम्भु माझी सरदार रहेको छिमेकी आनन्द साहले बताए ।

अपाङ्गता माझी गए राति आफ्नै घरमा सुतिरहेका बेला उनलाई विषालु सर्पले डसेको थियो । सर्पदंशित उनलाई आज बिहान उपचारका लागि सिरहा जिल्लाको बन्दीपुर स्थित सर्पदंश उपचार केन्द्रमा लगिएकामा उपचारका क्रममा मृत्यु भएको छिमेकी साहले बताए ।

कुटाकुट हुँदा सात घाइते
सोनमा गाउँपालिका –३ रघुनाथपुर गाउँमा आज पानी निकासको विषयलाई लिएर दुई परिवारबीच कुटाकुट हुँदा सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार स्थानीय सुजित यादव र चतुरी यादवका परिवारबीच पानी निकासको विषयलाई लिएर झैझगडा र कुटाकुट हुँदा तीन महिलासहित घाइते भएका छन् ।

घाइते हुनेमा चतुरी यादवका छोरा रुपेश, भाइबुहारी वर्षा र आमा तथा सुजित यादव, उनकी पत्नी किरणदेवी, छोराहरु रविशंकर यादव र हरिशंकर यादव रहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए । हात, मुक्का र भाटाले कुटाकुट गरेका उनीहरु घाइते भई जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।