बाग्मती

धुसेनी शिवालय अस्पतालमा एक्स–रे सेवा शुरु

७ साउन, बनेपा । काभ्रेको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिका–५ मा रहेको धुसेनी शिवालय प्राथमिक अस्पतालमा एक्स–रे सेवा शुरु गरिएको छ ।

एक्स–रे सेवा शुरु भएपछि सामान्य एक्स–रेका लागि शहर धाउनुपर्ने बाध्यता हटेको अस्पतालका ईञ्चार्ज राजु चौलागाईंले बताए । वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा गाउँपालिकाले एक्सरे मेसिन खरिद गरी सोमबारबाट सेवा शुरु गरेको वडा नं–५ का वडाध्यक्ष राजकुमार गौतमले बताए ।

अब सो अस्पतालमा आवश्यक जनशक्तिसहित एक्स–रे मेसिनसँगै प्रयोगशालाको पनि राम्रो व्यवस्था भएकाले अब आकस्मिक सेवाको लागि जिल्ला सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । साविक धुसेनी शिवालय स्वास्थ्यचौकीलाईस्तरवृद्धि गरी २१ रोपनी जग्गामा १५ श्ययाको अस्पतालको भवन निर्माण भइरहेको छ । प्रदेश सरकारको एक पालिका १५ श्ययाका अस्पताल निर्माण गर्ने योजना अनुरुप अगाडि बढाइएको सो अस्पतालको भवन अहिले एक तला ढलानको काम सम्पन्न भएर कार्य सम्पन्न गर्ने तयारीमा छ । वाग्मती प्रदेश सरकारको करिब ६ करोड आर्थिक सहयोगमा सो भवन निर्माण भइरहेको हो ।

यसअघि पनि कोशिपारिको नाग्रेगगर्चेमा रहेको डिसिडब्लुसि अस्पताल र कात्तिके देउरालीमा स्थापना गरेको धुलिखेल अस्पतालको शाखामा एक्स–रे सेवा उपलब्ध थियो । गाउँपालिकाको सक्रियतामा धुसेनी शिवालय प्राथमिक अस्पतालमा एक्स–रे मेसिनबाट सेवा शुरु गरेको कोशिपारिको यो तेस्रो अस्पताल हो ।