लुम्बिनी

रुकुमपूर्वमा एकीकृत बस्ती विकास

७ साउन, रुकुमपूर्व । रुकुम(पूर्व)का दुई ठाउँमा एकीकृत बस्ती निर्माणका लागि चालु आवमा प्रदेश सरकारले दुई करोड बजेट विनियोजन गरेको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–५ को हुकाम र भूमे गाउँपालिकाको वडा नम्बर ६ महतमा एकीकृत बस्ती निर्माणका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयलेएकएक करोड बजेट विनियोजन गरेको हो ।

दशवर्षेसशस्त्र द्वन्द्वका बेला सबैभन्दा धेरै मानवीय क्षति व्यहोरेका महत र हुकाममा प्रदेश नं ५ सरकारले एकीकृत बस्ती विकासको अवधारणा अघि सारेको छ । हुकाममा गत आवदेखि एकीकृत बस्ती विकासको कार्यक्रम लागू गरिएको तथा महतमा आव २०७५/७६ देखि कार्यक्रम लागू गरिएको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताए।

हुकाममा गत वर्ष छुट्याइएको बजेटले कोरोना महामारीको कारण समयमै काम गर्न नसकिएको बताइएको छ । एकीकृत बस्ती विकासका लागि भर्खरै बोलपत्रको काम सकिएकाले तत्कालै काम शुरु गरिने प्रदेशसभा सदस्य ओलीले बताए । उक्त बजेटबाट बस्तीभित्रका बाटामा ढुङ्गा बिछ्याउने, नाली काट्ने तथा ढल निकास र आँगन सफाइलगायत काम गरिने उनको भनाइ छ ।

यस्तै महतमा भने आव २०७५/७६ मा छुट्याइएको ५० लाख बजेटबाट बाटो निर्माण र सडक बत्ती जडान गरिएको छ । महत गाउँको बीचमा रहेको ८०० मिटरमा पक्की बाटो बनाइएको छ । बाटाको छेउमा सौर्य बत्ती जडान गरिएको छ । त्यसले गाउँ झिलीमिली हुँदा राति हिँडडुल गर्दा सजिलो भएको वडाध्यक्ष देवबहादुर बुढाले बताए ।

यस्तै गत आवमा छुट्याएको रु ५० लाख बजेटले कोरोनाको कारण गरिएको लकडाउनले समयमै काम गर्न नसके पनि अब तत्कालै काम शुरु गर्ने प्रक्रियामा रहेको प्रदेशसभा सदस्य ओलीले बताए । चालू आवका लागि आएको एक करोडको पनि नयाँ लागत अनुमान बनाएर काम गरिने उनको भनाइ छ ।

उक्त कार्यक्रमअन्तर्गत दुई गाउँमा सहायक बाटो, ढल निकास, आँगन सुधार, करेसाबारी निर्माण तथा सुँगुर, बङ्गुर र गाईगोरुको व्यवस्थापन गाउँदेखि एक किमी टाढा गर्ने र गाउँ सफा तथा व्यवस्थित गरिने जनाइएको छ । तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा महतमा सबभन्दा धेरै मानवीय क्षति भएको थियो । राज्य र विद्रोही पक्षबाट ५८ जना मारिएका थिए भने धेरै सर्वसाधारण विस्थापित भएका थिए ।

नेपाल प्रहरीका तत्कालीन प्रहरी नायब उपरीक्षक ठूले राईलाई महतबाटै माओवादी लडाकुले अपहरण गरेका थिए । सशस्त्र द्वन्द्वका क्रममा भएको क्षतिको सम्बोधनका प्रयासस्वरुप प्रदेश सरकारले महतमा एकीकृत बस्ती विकासको कार्यक्रम लागू गरिएको जनाएको छ । स्थानीय सरकारले पनि उक्त ठाउँमा गौतम बुद्धको अर्धकदको शालिक राख्ने, युद्ध सामग्री राख्नेदेखि अन्य काम गर्दै आएको छ ।