बाग्मती

कपनको सडक र पसल बर्सेनि डुबानमा

७ साउन काठमाडौं । बर्सातको समयमा चाबहिलको गोपीकृष्ण हलको आसपास, सरस्वतीनगर, कपनको मिलनचोकलगायत क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेका छन् । वर्षासँगै आएको बाढीले यस क्षेत्रका अधिकांश सडक पोखरी बन्ने गरेका छन् भने विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको पसल डुबानमा पर्ने गरेको छ ।

सडकको किनारबाट उचित कटान नहुनु तथा ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारणले पनि यस क्षेत्र जलमग्न बन्ने गरेको छ र पसल डुबानमा पर्ने गरेका छन् । चाबहिलको गोपीकृष्ण हल नजिक ढल भत्किएर सडकबाट नहरमा झैँ पानी बग्ने गरेको छ । कालोपत्र गरेको सडक ढलको पानीले भत्काइसकेको भन्दै स्थानीयवासीले गुनासो गर्न थालेका छन् ।

आजभोलिको समयमा त सडकमा पर्ने ढलको जताततैबाट पानी बग्ने गरेको छ । सडकमा भएका ठूल्ठूला खाल्डासमेत भरिएर आउने बाढीका कारण मोटरसाइकल तथा अन्य सवारी साधनसमेत दुर्घटनामा पर्ने गरेका छन् ।

घुडाँसम्म आउने ढलको पानीमा सर्वसाधारण पैदल हिँड्न बाध्य छन् । हातमा जुत्ता बोकेर पैदल हिँड्दै गरेका कपन सरस्वतीनगर बस्ने रामप्रसाद दुलाल भने, “यस्ता समस्या हामीले वर्षौँदेखि खेप्दै आएका छौँ । धेरैपटक यहाँको स्थानीयवासीले सम्बन्धित निकाय तथा जनप्रतिनिधिसँग मर्मत तथा स्तरोन्नतिको माग नराखेको पनि होइन तर हुन्छ भन्ने, काम नगर्ने प्रवृत्ति रहेको देखियो ।”

ठूलो पानी पर्दा सडकमा खोला नै बग्छ । पानी र हिलोले पुरेको खाल्डोे कता छ भनेर थाहा नपाउँदा धेरैपटक साना केटाकेटी, वृद्धवृद्धा तथा युवासमेत खाल्डोमा चुर्लुम्म डुब्ने गरेका छन् । यहाँको सडक हुँदै मोटरसाइकल, साइकल, स्कुटरमा यात्रा गर्नेहरुलाई त निकै समस्या छ । कपन मिलनचोक बस्ने नवीनप्रकाश कोइराला सडकमा बगेको पानी देखाउँदै आक्रोशसहितको कोइरालाले प्रश्न गरे, “हेर्नुस् त यो सडक हो कि खोला हो ? यहाँ यात्रा कसरी गर्ने ? पैदल जाने त झन् सम्भावना नै छैन । यसरी कहिलेसम्म सहने ? कपनवासीको भोट पाएर विकास गर्छु भन्ने नेता अहिले कुन दुलोमा छन् ? ”

कपनको मिलनचोक, साततले, कपन प्रहरी प्रभाग, आकाशे धारा हुँदै बालुवाखानी पुग्ने सडकको अवस्था नाजुक छ । लामो समयदेखि खनेको ढलको खाल्डो र यसैबाट बनेको हिलो र चिप्लोबाटो माथि बग्ने पानीको भलले यहाँका स्थानीयवासी आजित बनेका छन् ।

कपन मिलनचोकमा रहेको तरकारी बजार हुँदै आकाशेधारा पुग्ने सडकको दयनीय अवस्थाका कारण तरकारी व्यवसाय नै चौपट भएको भन्दै व्यापारीको गुनासो छ । गुनासो भए पनि सुनेर माग सम्बोधन गर्ने कोही नभएपछि उनीहरुको आक्रोश झन् बढी देखिन्छ ।

यसरी सडकको सास्तीले दिनहुँ हैरानी खेप्नुपरेको स्थानीयवासीको समयमै सडक बनाएर सुविधा दिनुपर्ने माग छ तर जनप्रतिनिधि तथा ठेकेदार कम्पन्नीले भने विभिन्न कारण देखाउँदै स्थानीयवासीको मागको बेवास्ता गर्दै आएका छन् ।

सरकारले सडक निर्माण सम्पन्नका लागि उपयुक्त निर्णयका साथ निर्माणकार्य अगाडि नबढाउने हो भने यहाँका स्थानीयवासीले अझै केही वर्ष अहिलेकै अवस्थाको सडक व्यहोर्नुपर्ने स्थिति छ ।