अन्तर्राष्ट्रिय

अमेरिकामा कोरोना माहामारीको स्थिती थप भयावह हुनसक्छः ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारीको स्थिती थप भयावह हुने बताएका छन् । उनले महामारी उच्चतम बिन्दुमा पुगेपछि स्थिती पुनः ठिक हुनेसमेत बताएका छन् ।

कोरोनाबारे दैनिक पत्रकार सम्मेलन पुनः सुचारु गर्दै ट्रम्पले सबै अमेरिकीलाई फेस मास्क लगाउन अपिल गर्दै यसको असर लामो समयसम्म रहने बताएका छन् । राष्ट्रपतिले भने पत्रकार सम्मेलनमा फेस मास्क लगाएका थिएनन् र यसअघि यस्तो प्रकारको सावधानीको खिल्लीसमेत उडाएका थिए ।

राष्ट्रपतिका सल्लाहकारले अमेरिकामा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेका कारण उनलाई आफ्नो धारणामा परिवर्तन गर्न आग्रह गर्दै आएका थिए । महिनौंपछि मंगलबार आफ्नो पत्रकार सम्मेलनका क्रममा उनले निकै सम्हालिँदै त्यहि कुरा दोहोराए जुन कोरोना टास्क फोर्सका अधिकारी र स्वास्थ्य विशेषज्ञले भनिरहेका थिए ।

त्यतिबेला उनले दुर्भाग्यले महामारी ठिक हुनु अघि नै यो थप विध्वंशकारी हुने चेतावनी दिए । उनले भने, ‘हामी सबैले भनिरहेका छौं कि सामाजिक दुरीको पालना गर्न सक्नुहुन्नँ भने मास्क लगाउनुहोस् । मास्क तपाईंलाई मन पर्न पनि सक्छ, नपर्न पनि सक्छ तर यसको असर त पक्कै हुन्छ ।’

ओपिनियन पोलका अनुसार नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडनले उनलाई कडा टक्कर दिनेछन् ।